देशभर मनसुनी गतिविधि सक्रिय, तीन प्रदेशमा भारी वर्षाको सम्भावना
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशका अधिकांश क्षेत्रमा बदली र वर्षाको अवस्था छ।
हाल बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मधेश प्रदेशका एक–दुई स्थानमा पनि वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्नेछ।
यस्तै, तराईका विभिन्न क्षेत्रमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा विभिन्न प्रदेशका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ। तराईका केही स्थानमा समेत मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन पनि आग्रह गरिएको छ।







