राप्रपा सांसद पदमुक्त नभएको प्रवक्ता ज्ञानेन्द्र शाहीको दाबी
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले बागमती प्रदेशसभाका राप्रपा सांसदहरू पदमुक्त नभएको दाबी गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शाहीले पार्टीले सांसदहरूलाई कारबाही गर्न बागमती प्रदेशसभा सचिवालयमा निवेदन मात्र दिएको बताएका छन्। निवेदन दिँदैमा सांसदको पद स्वतः समाप्त नहुने उनको भनाइ छ।
उनले सभामुखबाट औपचारिक निर्णय वा कानुनी प्रक्रियाअनुसार सम्बन्धित निकायबाट पदमुक्त भएको घोषणा नभएसम्म सांसदहरूलाई पदमुक्त भएको भनेर प्रचार गर्नु गलत हुने बताएका छन्।
शाहीले पार्टीका आधिकारिक व्यक्ति र जिम्मेवार नेताहरूले समेत तथ्य नबुझी गलत सूचना फैलाउँदा पार्टी कमजोर हुने बताए। उनका अनुसार पार्टीले कारबाहीको प्रक्रिया अघि बढाउन सक्ने भए पनि निवेदन बुझाएकै आधारमा सांसद पद समाप्त भएको मान्न मिल्दैन।
बागमती प्रदेशका सम्बन्धित सांसदहरू जनताबाट निर्वाचित भएकाले उनीहरूको पदको आधार जनताको मत रहेको भन्दै शाहीले भावनाभन्दा तथ्यका आधारमा धारणा सार्वजनिक गर्न आग्रह गरेका छन्।
उनले भनेका छन्, ‘गलत सूचना होइन, सत्य कुरा प्रचार गरौँ।’







