प्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाउन स्वास्थ्य परीक्षण रिपोर्ट बुझाए
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन शाहले संसद् बैठकमा कालो चस्मा लगाउनुपर्ने स्वास्थ्यसम्बन्धी कारण खुलाउँदै स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र संघीय संसद् सचिवालयमा बुझाएका छन्।
संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले प्रधानमन्त्री शाहको स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र सचिवालयमा प्राप्त भएको पुष्टि गरेका छन्। यसअघि सभामुख डोलप्रसाद अर्याल (डीपी) ले सांसदहरूले संसद् बैठकमा कालो चस्मा लगाउन चाहेमा स्वास्थ्य परीक्षण रिपोर्ट पेस गर्नुपर्ने बताएका थिए।
सभामुखको निर्देशनपछि प्रधानमन्त्री शाहले आफूलाई कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य अवस्था रहेको जनाउँदै रिपोर्टसहितको पत्र पठाएका हुन्। बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुँदैछ। उक्त कार्यक्रममा ११ जना सांसदले प्रधानमन्त्री शाहलाई विभिन्न विषयमा प्रश्न गर्ने तयारी छ।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्री वा उहाँको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न गर्न प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने व्यवस्था छ। नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा यस्तो कार्यक्रमका लागि निर्धारण गर्न सकिने व्यवस्था छ।
त्यस्तै, नियम ५७ ले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सरकारी तथा अन्य सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गर्न सकिने व्यवस्था गरेको छ। नियम ५८ अनुसार प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सांसदले बैठक सुरु हुनुभन्दा तीन दिनअघि प्रश्नको विषय सभामुखलाई लिखित रूपमा जानकारी गराउनुपर्ने हुन्छ।
सोही प्रक्रियाअनुसार ११ जना सांसदले प्रधानमन्त्रीलाई प्रश्न गर्न नाम दर्ता गराएका छन्। प्रधानमन्त्री शाह संसद् बैठकमा सहभागी हुने तयारी भइरहेका बेला कालो चस्मा प्रयोग गर्नुपर्ने स्वास्थ्य अवस्थासम्बन्धी रिपोर्टसहितको पत्र संसद् सचिवालयमा पुगेको हो।







