प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार दिउँसो १ बजे
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । संघीय संसद् सचिवालयले मंगलबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने तय भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले स्थगित गरेको छ।
संसद् सचिवालयका अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची थियो। त्यस्तै, मन्त्री गौतमले नै ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रमसमेत तय भएको थियो।
बैठक स्थगित भएसँगै यी दुवै कार्यसूची अर्को बैठकमा सर्ने भएका छन्। आजकै बैठकमा संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौता पेस गर्ने कार्यसूची पनि थियो। उक्त विषयसमेत अर्को बैठकका लागि सारिएको छ।
संघीय संसद् सचिवालयले अर्को बैठक बुधबार दिउँसो १ बजे बस्ने जनाएको छ।







