चार दिनमा १८ हजार ६ सयले बढेको सुनको भाउ आज घट्यो

User Image Prime TV News ३ हप्ता अगाडि
Image of चार दिनमा १८ हजार ६ सयले बढेको सुनको भाउ आज घट्यो

काठमाडौ । लगातार चार दिनसम्म तीव्र रूपमा बढेको सुनको मूल्य मंगलबार भने घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेर ३ लाख २२ हजार २ सय रुपैयाँ कायम भएको छ। सोमबार सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँ बढेर ३ लाख २२ हजार ७ सय रुपैयाँ पुगेको थियो।

त्यसअघि आइतबार २ हजार ८ सय, शुक्रबार ३ हजार ३ सय र बिहीबार ९ हजार ३ सय रुपैयाँले सुनको भाउ बढेको थियो। यसरी चार दिनमा सुनको मूल्य १८ हजार ६ सय रुपैयाँले बढेको थियो।यसैबीच, चाँदीको मूल्यमा पनि गिरावट आएको छ।

महासंघका अनुसार आज चाँदी तोलामा ६५ रुपैयाँ घटेर ४ हजार ९ सय रुपैयाँमा झरेको छ। सोमबार पनि चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर ४ हजार ९ सय ६५ रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य भने गत माघ १५ गते कायम भएको थियो। त्यस दिन सुन तोलामा २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।

त्यस्तै, चाँदीको हालसम्मकै उच्च मूल्य गत माघ १५ गते तोलाको ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो। चाँदीको मूल्यमा हालसम्मकै ठूलो एकदिने गिरावट भने गत माघ १८ गते तोलामा १ हजार ५ सय ६५ रुपैयाँ भएको थियो।