बागमती सरकारप्रति नेकपाकै सांसद असन्तुष्ट, प्रचण्डसँग छलफल गर्न काठमाडौमा

User Image Prime TV News ३ हप्ता अगाडि
Image of बागमती सरकारप्रति नेकपाकै सांसद असन्तुष्ट, प्रचण्डसँग छलफल गर्न काठमाडौमा

काठमाडौ । बागमती प्रदेश सरकार गठनको प्रक्रिया र मन्त्रालय बाँडफाँटप्रति असन्तुष्टि जनाउँदै सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टीका केही प्रदेशसभा सदस्य काठमाडौं पुगेका छन्।

उनीहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर सरकार गठन र मन्त्रालय बाँडफाँटबारे आफ्नो असन्तुष्टि राख्ने तयारी गरेका छन्। मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने तयारी गरिरहेका बेला सत्तारूढ दलभित्रै असन्तुष्टि चर्किएपछि बागमती सरकारमाथि राजनीतिक दबाब बढेको छ।

स्रोतका अनुसार गंगानारायण श्रेष्ठ, कृष्णप्रसाद खनाल, राजेन्द्रमान श्रेष्ठ, युवराज चौलागाईं, रुकु चौलागाईं, लक्ष्मण लम्साल, उर्मिला लामा र ओमकुमारी श्रेष्ठसहितका प्रदेशसभा सदस्य तथा नेताहरू प्रचण्डसँग छलफल गर्न काठमाडौं पुगेका हुन्।

असन्तुष्ट सांसदहरूले बागमती प्रदेश सरकार गठनका क्रममा भएको मन्त्रालय बाँडफाँट र त्यसमा पार्टी नेतृत्वको भूमिकाप्रति गम्भीर प्रश्न उठाएका छन्। उनीहरूले सरकार गठन प्रक्रिया नै सन्तोषजनक नभएको भन्दै तत्काल सरकारको पक्षमा विश्वासको मत दिन कठिन हुने धारणा राखेको स्रोतको भनाइ छ।

मुख्यमन्त्रीले सोमबार दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची तय गरिएको थियो। तर सत्ता गठबन्धनभित्र सहमति जुट्न नसकेपछि बैठक पटक–पटक सार्दै अन्ततः मंगलबार अपराह्न ४ बजेसम्मका लागि स्थगित गरिएको थियो।

स्रोतका अनुसार सोमबार विश्वासको मतका लागि असन्तुष्ट सांसदहरू हेटौँडा नआएपछि बैठक स्थगित गर्नुपर्ने अवस्था आएको थियो। त्यसपछि पार्टी अध्यक्ष प्रचण्डले असन्तुष्ट सांसदहरूसँग छलफल गर्दै हेटौँडा पुगेर सरकारको पक्षमा मतदान गर्न आग्रह गरेका छन्।

तर असन्तुष्ट समूहले सरकार गठनमै कमजोरी भएको भन्दै त्यसलाई नसच्याई विश्वासको मत दिन कठिन हुने अडान राखेको बताइएको छ। विश्वासको मतको विषयलाई लिएर नेकपाभित्र देखिएको असन्तुष्टिले मुख्यमन्त्री थापा मगरलाई थप दबाबमा पारेको छ।