काठमाडौंमा सुरु भयो नाडा अटो शो २०२६, नेपाली उत्पादनलाई विशेष प्राथमिकता

User Image Prime TV News ३ हप्ता अगाडि
Image of काठमाडौंमा सुरु भयो नाडा अटो शो २०२६, नेपाली उत्पादनलाई विशेष प्राथमिकता

काठमाडौ । नेपालमा सवारीसाधनको बजार विस्तार भइरहेका बेला स्वदेशमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन र अटोमोबाइल सामग्रीलाई विशेष प्राथमिकता दिँदै नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गरेको १८औँ संस्करणको अटो शोको उद्घाटन उपराष्ट्रपति रामसहाय यादवले गरेका छन्। नाडाको ५०औँ वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको प्रदर्शनीमा दुईपांग्रे, चारपांग्रे र व्यावसायिक सवारीसाधनका ५३ ब्रान्ड सहभागी छन्।

आयोजकका अनुसार यसपटक डेढ दर्जनभन्दा बढी नयाँ मोडल सार्वजनिक तथा प्रदर्शन गरिँदै छन्। प्रदर्शनीको प्रमुख आकर्षणमध्ये नेपालमै उत्पादन भएको विद्युतीय स्कुटर ‘यात्री पी–२’ समेत रहेको छ।

यसपटकको अटो शोमा विदेशी ब्रान्डका सवारीसाधनसँगै नेपाली उत्पादनलाई विशेष स्थान दिइएको छ। प्रदर्शनीमा ‘मेड इन नेपाल, मेड फर नेपाल’ नामक छुट्टै प्याभिलियन राखिएको छ। उक्त प्याभिलियनमा नेपालमै उत्पादन वा एसेम्बल भएका सवारीसाधन तथा अटोमोबाइल सामग्री प्रदर्शन गरिएका छन्। नाडाका अनुसार करिब आठ नेपाली उत्पादक यस क्षेत्रमा सहभागी छन्।

विद्युतीय मोटरसाइकल, अटोमोटिभ ब्याट्री, ल्युब्रिकेन्ट, हेल्मेटलगायत सामग्री उत्पादन गर्ने नेपाली कम्पनी सहभागी छन्। यात्रीसँगै एसियन वायरिङ, कोहिनुर प्लास्टिक इन्डस्ट्रिज, नेपाल ल्युब आयल र पूर्वाञ्चल ल्युब आयललगायत कम्पनीले आफ्ना उत्पादन प्रदर्शन गरेका छन्।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपाल अब सवारीसाधन आयातमा मात्र सीमित नरहेको बताएका छन्। उनका अनुसार पछिल्लो समय नेपालमा अटोमोबाइल बिक्री, सर्भिसिङ र पार्टपुर्जा आपूर्तिसँगै उत्पादन तथा एसेम्बलको गतिविधिसमेत विस्तार भइरहेको छ।

अटो शोमा प्यासेन्जर कार, लाइट कमर्सियल भेइकल, दुईपांग्रे सवारीसाधनसँगै बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, अटो पार्ट्स र ग्यारेज उपकरणका २०० भन्दा बढी स्टल रहेका छन्। प्रदर्शनीलाई चारपांग्रे, दुईपांग्रे, वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरण, ‘मेड इन नेपाल, मेड फर नेपाल’ र इन्टरनेसनल बिजनेस प्याभिलियन गरी विभिन्न क्षेत्रमा विभाजन गरिएको छ।

प्यासेन्जर कारतर्फ रिडारा, आयोन, जेएमईभी, टाटा ईभी, सुजुकी, दीपल, अभतार, फोटोन, स्कोडा, नामी, चांगन, प्रोटोन, बीवाईडी, जीली, ओमोडा, जेको, जेटोर, एमजी, जीडब्ल्यूएम, लीपमोटर, एमहिरो, स्काइवेल र वुलिङलगायत ब्रान्ड सहभागी छन्।

दुईपांग्रे सवारीतर्फ रोयल इन्फिल्ड, यात्री, हिरो, भिडा, यामाहा रेसिङ, भेस्पा–अप्रिलिया, एम्पियर, मेटाईभी, जोङसेङ, क्यूजे मोटर्स, मिचे अटो र रिभोल्टलगायत ब्रान्ड सहभागी छन्।