फोहोर व्यवस्थापन सहितका विषयमा प्रधानमन्त्रीलाई भेट्ने मेयर्स फोरमको निर्णय
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा संस्था काठमाडौं उपत्यका मेयर्स फोरमले प्रधानमन्त्री वालेन्द्र शाहलाई भेटेर उपत्यकाको फोहोर व्यवस्थापनसहित समसामयिक विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
मंगलबार बसेको फोरमको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग जतिसक्दो छिटो भेटघाटको समय माग गर्ने निर्णय गरेको हो। भेटमा उपत्यकाको फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापनलगायत विषयमा छलफल गर्ने तयारी छ।
बैठकले भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा फोरमका पदाधिकारी तथा सदस्यहरूमाथि सांसद आशिका तामाङबाट भएको व्यवहारप्रति समेत आपत्ति जनाएको छ। उक्त विषयमा पनि प्रधानमन्त्रीसँगको भेटमा ध्यानाकर्षण गराउने फोरमले जनाएको छ।
फोरमका अनुसार प्रधानमन्त्री शाह काठमाडौं महानगरपालिकाका प्रमुख रहँदादेखि नै उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा छलफल हुँदै आएको थियो। तत्कालीन सरकार र नेप बेस्टबीच भएको सम्झौता कार्यान्वयन गर्ने वा सम्झौता खारेज गरेर फोहोर व्यवस्थापनका लागि नयाँ विकल्प अघि बढाउने विषयमा समेत पटक–पटक छलफल भएको फोरमले जनाएको छ।
फोरमले उपत्यकाको फोहोर व्यवस्थापन संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारको साझा सरोकारको विषय भएको जनाएको छ। यसको दीर्घकालीन समाधानका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको भन्दै फोरमले प्रभावकारी अन्तरसरकारी समन्वय आवश्यक रहेको निष्कर्ष निकालेको छ।
फोहोर व्यवस्थापनलाई दिगो र व्यवस्थित बनाउन आवश्यक नीतिगत निर्णय तथा स्रोतसाधन व्यवस्थापनका लागि संघीय सरकारसँग समन्वय गर्ने फोरमको तयारी छ।







