राप्रपाले तीन सांसदलाई पदमुक्त गर्न पठाएको पत्रप्रति कमल थापाको प्रश्न, भने–‘फेक’ हो कि भन्ने लाग्यो
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले वाग्मती प्रदेशसभाका तीन सांसदलाई पदमुक्त गर्न पठाएको पत्रप्रति नेता कमल थापाले प्रश्न उठाएका छन्।
उनले पार्टीको निर्णयलाई नै ‘फेक’ हुन सक्ने आशंका व्यक्त गरेका छन्। थापाले मंगलबार सामाजिक सञ्जालमार्फत भदौ ४ गतेपछि राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको कुनै बैठक नबसेको दाबी गरेका छन्। यस्तो अवस्थामा तीन सांसदलाई पदमुक्त गर्ने निर्णय कसरी भयो भन्नेमा आफू आश्चर्यचकित भएको उनको भनाइ छ।
उनले पत्रमा निर्णय भएको बैठकको मिति उल्लेख नभएको भन्दै उक्त पत्रको आधिकारिकतामाथि समेत प्रश्न उठाएका छन्। राप्रपाले सोमबार वाग्मती प्रदेशसभा सदस्यहरू राजु बिष्ट, गिरबहादुर तामाङ र राजेन्द्र प्रजापतिले पार्टीको पटक–पटकको निर्देशन तथा ह्वीप उल्लंघन गरेको आरोप लगाउँदै उनीहरूलाई पदमुक्त गर्न सभामुखलाई पत्र पठाएको थियो।
तर राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले भने उक्त पत्र भदौ ४ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयअनुसार पठाइएको स्पष्ट पारेका छन्। उनका अनुसार उक्त बैठकमा कमल थापा स्वयं सहभागी थिए र उनले निर्णयमा ‘नोट अफ डिसेन्ट’ समेत लेखेका थिए।
पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै थापाले सार्वजनिक रूपमा प्रश्न उठाएपछि राप्रपाभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ। एकातर्फ पार्टीले सांसदहरूलाई ह्वीप उल्लंघन गरेको भन्दै कारबाही अघि बढाएको छ भने अर्कोतर्फ पार्टीकै वरिष्ठ नेता थापाले निर्णयको वैधानिकता र प्रक्रियामाथि प्रश्न उठाएका छन्।







