कांग्रेस प्रवक्ता चालिसे: ‘पार्टीभित्रको विवादको समाधान अदालतमा होइन, विधानमै खोजिनुपर्छ’

User Image Prime TV News ३ हप्ता अगाडि
Image of कांग्रेस प्रवक्ता चालिसे: ‘पार्टीभित्रको विवादको समाधान अदालतमा होइन, विधानमै खोजिनुपर्छ’

काठमाडौ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीभित्र देखिएको असन्तुष्टि र विवादको समाधान अदालतबाट नभई पार्टीको लोकतान्त्रिक प्रक्रिया र विधानभित्रै खोजिनुपर्ने बताएका छन्।

१५औँ महाधिवेशन रोक्न पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा रिट दायर गरेको प्रसंग उल्लेख गर्दै चालिसेले पार्टीभित्र विश्वासको संकट उत्पन्न भएपछि अदालतको बाटो रोज्ने प्रवृत्तिले कांग्रेसलाई न्याय नगर्ने धारणा राखे।

उनका अनुसार कांग्रेसभित्रको पछिल्लो असन्तुष्टि मुख्यतः व्यक्तिगत राजनीतिक विषयसँग सम्बन्धित छ। तर पार्टीको विचार, नीति र कार्यक्रमसँग सम्बन्धित फरक मतलाई भने लोकतान्त्रिक पार्टीले स्वाभाविक रूपमा स्वीकार गर्नुपर्ने उनले बताए।

चालिसेले नेताहरूको व्यक्तिगत राजनीतिक भविष्य र पार्टीको भविष्य फरक विषय भएको उल्लेख गर्दै जनताले कांग्रेसप्रति राखेको विश्वास कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताए। उनका अनुसार कांग्रेसका शुभेच्छुक र कार्यकर्ताले व्यक्तिभन्दा पार्टीको भविष्यलाई प्राथमिकता दिनुपर्छ।

कांग्रेस विधानबाट चल्ने लोकतान्त्रिक पार्टी भएकाले समस्या देखिए विधान संशोधनको बाटो रोज्नुपर्ने चालिसेको भनाइ छ। तर भेलाको नाममा वा सहमतिको बहानामा विधान मिच्न नहुने उनले स्पष्ट पारे। केन्द्रीय समिति विस्तार आवश्यक भए विधानले दिएको अधिकारभित्र रहेर गर्नुपर्ने, क्रियाशील सदस्यता व्यवस्थापनमा समस्या भए सबै पक्षको सहभागिता र विश्वास कायम हुने संयन्त्र बनाउनुपर्ने उनको सुझाव छ।

त्यस्तै, निर्वाचन प्रक्रियाप्रति आशंका भए सबै पक्षलाई विश्वास हुने निर्वाचन समिति गठन गरेर पारदर्शी प्रक्रिया अपनाउन कांग्रेस तयार रहेको उनले बताए। महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय बनाउन थप उपाय आवश्यक परे आपसी सहमतिबाट वातावरण बनाउन सकिने उनको भनाइ छ।

कांग्रेसको विधानले तोकेको समयसीमा मंसिरमा समाप्त हुँदै गएको र अदालतमा विचाराधीन पुनरावलोकनको टुंगो कहिले लाग्छ भन्ने निश्चित नभएकाले अदालतको फैसला कुरेर पार्टीको लोकतान्त्रिक प्रक्रिया अनिश्चित बनाउन नहुने चालिसेले बताए।

निर्वाचनपछि प्रतिनिधि गलत भएको, धाँधली भएको वा नक्कली प्रतिनिधिबाट मतदान भएको भन्दै पटक–पटक अदालत जाने प्रवृत्ति कायम रहे विवादको चक्र अन्तहीन बन्न सक्ने उनको चेतावनी छ। उनले नेताहरूलाई सम्मान र आवश्यक परे समर्थन गर्न सकिने भए पनि कुनै नेताप्रतिको सम्मान पार्टीको विधान र लोकतान्त्रिक प्रक्रियाभन्दा माथि हुन नसक्ने बताए।

चालिसेले भने, ‘नेताप्रतिको सम्मान पार्टीको विधान र लोकतान्त्रिक प्रक्रियाभन्दा माथि हुन सक्दैन।’