अमेरिकाले ४७ वर्षपछि सिरियालाई आतंकवाद प्रायोजन गर्ने देशको सूचीबाट हटायो

User Image Prime TV News ३ हप्ता अगाडि
Image of अमेरिकाले ४७ वर्षपछि सिरियालाई आतंकवाद प्रायोजन गर्ने देशको सूचीबाट हटायो

काठमाडौ । अमेरिकाले सिरियालाई करिब ४७ वर्षपछि ‘आतंकवाद प्रायोजन गर्ने देश’ को सूचीबाट हटाएको छ।

अमेरिकी प्रशासनले यो निर्णयसँगै सिरियामा विदेशी लगानी सहज हुने र देशलाई पुनः विश्व अर्थव्यवस्थासँग जोड्न मद्दत पुग्ने जनाएको छ। सिरिया सूचीबाट हटेपछि अब अमेरिकाको उक्त सूचीमा इरान, उत्तर कोरिया र क्युबा गरी तीन देश मात्र बाँकी रहेका छन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिरियालाई सूचीबाट हटाउने निर्णयले देशलाई आर्थिक समृद्धितर्फ अघि बढ्ने अवसर प्रदान गर्ने बताएका छन्। यससम्बन्धी प्रस्ताव पहिलोपटक गत वर्ष जुलाईमा अघि बढाइएको थियो।

अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले पनि निर्णयको स्वागत गर्दै यसले सिरियामा विदेशी लगानी भित्र्याउन सहयोग पुग्ने र त्यसबाट देशको राजनीतिक तथा आर्थिक स्थिरता बलियो बन्ने बताएका छन् । पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सिरियाका नयाँ राष्ट्रपति अहमद अल–शरासँग सम्पर्क र संवाद बढाउँदै आएको छ।

अल–शरा यसअघि एउटा विद्रोही तथा उग्रवादी संगठनको नेतृत्व गरिसकेका व्यक्ति हुन्। उनी अल–कायदासँग सम्बन्धित संगठनको नेतृत्वमा समेत रहेका थिए र कुनै समय अमेरिकाले उनको पक्राउका लागि इनाम घोषणा गरेको थियो।

तर पछिल्लो राजनीतिक परिवर्तनपछि अमेरिकाले सिरियासँगको सम्बन्धमा नयाँ नीति अघि बढाएको छ। गत वर्ष अमेरिकाले अल–शराको नेतृत्वमा रहेको हयात तहरीर अल–शाम (एचटीएस)लाई समेत आफ्नो आतंकवादी संगठनको सूचीबाट हटाएको थियो।

सिरियालाई आतंकवाद प्रायोजन गर्ने देशको सूचीबाट हटाउने पछिल्लो निर्णयले लामो समयदेखि अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्ध र अलगावमा रहेको सिरियाका लागि विदेशी लगानी तथा आर्थिक पुनर्निर्माणको बाटो केही सहज हुने अपेक्षा गरिएको छ।