नयाँ बानेश्वरमा ड्युटीमा खटिएका प्रहरीमाथि हातपात, एक युवक पक्राउ
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । काठमाडौंको नयाँ बानेश्वर चोकमा ड्युटीमा खटिएका प्रहरीमाथि हातपात भएको छ।
सडकमा ट्राफिक व्यवस्थापन तथा जनचेतना अभिवृद्धिका लागि खटिएका महिला र पुरुष प्रहरीमाथि एक युवकले हातपात गरेको प्रहरीले जनाएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार घटनामा संलग्न भएको आरोपमा जुम्ला घर भएका २७ वर्षीय राज कठायतलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार सडकमा जथाभावी बाटो काटिरहेका पैदलयात्रीलाई ट्राफिक प्रहरीले आकाशे पुल प्रयोग गर्न आग्रह गरिरहेका थिए। सोही क्रममा कठायतले ट्राफिक प्रहरीसँग विवाद गर्दै प्रहरीमाथि हातपात गरेको बताइएको छ।
पक्राउ परेका कठायतलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







