प्रचण्डसँग छलफलपछि नेकपा बागमतीका असन्तुष्ट सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिने

User Image Prime TV News ३ हप्ता अगाडि
Image of प्रचण्डसँग छलफलपछि नेकपा बागमतीका असन्तुष्ट सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टी बागमती प्रदेशका असन्तुष्ट सांसदहरूले मुख्यमन्त्री किरण थापामगरलाई विश्वासको मत दिने भएका छन्।

मंगलबार दिउँसो पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेपछि असन्तुष्ट सांसदहरू मुख्यमन्त्री थापामगरको पक्षमा मतदान गर्न तयार भएका हुन्। असन्तुष्ट सांसदहरूले राप्रपासँग सत्ता सहकार्य गरेको तथा नेकपा र नेकपा एमालेबीच भएको पाँचबुँदे निर्देशनअनुसार मन्त्रालय बाँडफाँट नभएको विषयमा प्रश्न उठाउँदै आएका थिए।

नेकपा केन्द्रीय संयोजन समितिका सदस्यसमेत रहेका सांसद गंगानारायण श्रेष्ठका अनुसार राप्रपासँग सत्ता सहकार्य गर्ने विषयमा प्रचण्डसँग राजनीतिक तथा वैचारिक छलफल भएको छ। उक्त विषयमा अन्तिम निर्णय केन्द्रीय संयोजन समितिको बैठकले गर्ने सहमति भएको उनले बताए।

श्रेष्ठका अनुसार प्रचण्डले अहिले मुख्यमन्त्रीलाई विश्वासको मत दिन आग्रह गरेका छन्। सत्ता सहकार्यसम्बन्धी निर्णय केन्द्रीय संयोजन समितिको बैठकबाट हुने र निर्णय गलत भएको ठहरिएमा भविष्यमा विश्वासको मत फिर्ता लिन सकिने विषयमा समेत छलफल भएको छ।

यसअघि केन्द्रले गरेको निर्णयप्रति श्रेष्ठसहित कृष्ण खनाल, राजेन्द्रमान श्रेष्ठ, युवराज चौलागाईं, रुकु चौलागाईं, लक्ष्मण लम्साल, उर्मिला लामा र ओमकुमारी श्रेष्ठले असन्तुष्टि जनाएका थिए। यीमध्ये कृष्ण खनाल, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल र ओमकुमारी श्रेष्ठ साबिक नेकपा एकीकृत समाजवादीतर्फका सांसद हुन् भने बाँकी सांसदहरू साबिक नेकपा माओवादी केन्द्रतर्फका हुन्।

असन्तुष्ट सांसदहरू विश्वासको मत दिने निर्णयमा पुगेपछि मुख्यमन्त्री थापामगरलाई तत्कालको राजनीतिक संकट टरेको छ। यद्यपि राप्रपासँगको सत्ता सहकार्य र मन्त्रालय बाँडफाँटको विवाद भने केन्द्रीय संयोजन समितिको बैठकबाट टुंग्याउनुपर्ने भएको छ।