नेप्से लगातार तेस्रो दिन घट्यो, कारोबार रकम भने बढ्यो

User Image Prime TV News ३ हप्ता अगाडि
Image of नेप्से लगातार तेस्रो दिन घट्यो, कारोबार रकम भने बढ्यो

काठमाडौ । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार परिसूचक नेप्से ओरालो लागेको छ।

नेप्से आज ५.३० अंकले घटेर २ हजार ५९४.२७ विन्दुमा कायम भएको छ। योसँगै नेप्से लगातार तेस्रो दिन घटेको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्समा पनि गिरावट आएको छ।

आज ३५७ कम्पनीका सेयर कारोबार भएका छन्। तीमध्ये ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने १८७ कम्पनीको सेयर मूल्य घटेको छ। १२ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो। कारोबारका क्रममा कुल १ करोड ४४ हजार १६४ कित्ता सेयर ४६ हजार ५८९ पटक किनबेच भएका छन्।

आजको कुल कारोबार रकम ४ अर्ब १० करोड ९७ लाख ५२ हजार रुपैयाँ पुगेको छ। यो रकम सोमबारको तुलनामा २६.८५ प्रतिशत बढी हो।विकास बैंक र निर्जीवन बीमा समूह मात्रै बढे आज कारोबार भएका समूहगत परिसूचकमध्ये विकास बैंक र निर्जीवन बीमा समूह मात्रै बढेका छन्। बाँकी सबै समूहका परिसूचक घटेका छन्।

सबैभन्दा धेरै वित्त समूहको परिसूचक ०.९१ प्रतिशतले घटेको छ। आजको कारोबारमा सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, नाडेप लघुवित्त वित्तीय संस्था, एभरेस्ट कलर र कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ता तुलनात्मक रूपमा बढी लाभान्वित भएका छन्।

त्यस्तै, धौलागिरी लघुवित्त वित्तीय संस्था, एनआईसी एसिया फ्लेक्सी क्याप फन्ड, नबिल बैंक डिबेञ्चर, सिटिजन सन्तुलित योजना र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्।

नेप्से लगातार तीन कारोबार दिन घटे पनि मंगलबार कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ। यसले बजारमा बिक्री दबाबसँगै कारोबार गतिविधि पनि बढेको देखाएको छ।