मुख्यमन्त्रीको विश्वासको मत प्रक्रियामा सहभागी नहुन कांग्रेसको ह्विप
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । बागमती प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलले मुख्यमन्त्री किरण थापामगरले लिन लागेको विश्वासको मतसम्बन्धी प्रक्रियामा सहभागी नहुन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ।
कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले सोमबार विज्ञप्ति जारी गर्दै भदौ ९ गते दिउँसो ४ बजेका लागि तय गरिएको विश्वासको मतसम्बन्धी प्रक्रियामा सहभागी नहुन सबै प्रदेशसभा सदस्यलाई निर्देशन दिएका हुन्।
कांग्रेसले मुख्यमन्त्री थापामगरको नियुक्तिसम्बन्धी मुद्दा उच्च अदालत पाटनको हेटौँडा इजलासमा विचाराधीन रहेकाले त्यसको टुंगो नलागेसम्म प्रदेशसभामा विश्वासको मतको प्रक्रिया अघि बढाउनु असंवैधानिक हुने दाबी गरेको छ।
कांग्रेसका अनुसार नेपालको संविधानको धारा १९१ ले अदालतमा विचाराधीन विषयमा प्रदेशसभामा छलफल गर्न रोक लगाएको छ। यही आधारमा कांग्रेसले यसअघि नै मुद्दाको किनारा नलागेसम्म विश्वासको मतलगायत प्रक्रिया अघि नबढाउन सभामुखसँग आग्रह गरेको थियो।
अदालतले भदौ १० गते मुद्दाका दुवै पक्षलाई छलफलका लागि बोलाएको अवस्थामा त्यसको अघिल्लो दिन नै सभामुखले विश्वासको मतको प्रक्रिया अघि बढाउन खोज्नु अदालतको अवहेलना हुने कांग्रेसको जिकिर छ।
कांग्रेसले सभामुखको कदमलाई ‘अलोकतान्त्रिक’ भन्दै आपत्ति जनाएको छ। सभामुखले कुनै राजनीतिक दलको प्रवक्ताका रूपमा नभई निष्पक्ष, तटस्थ र मर्यादित भूमिका निर्वाह गर्नुपर्ने कांग्रेसको माग छ। कांग्रेस संसदीय दलले मुख्यमन्त्रीको नियुक्तिसम्बन्धी कानुनी विवाद समाधान नभएसम्म प्रदेशसभाको प्रक्रियालाई अघि बढाउँदा लोकतान्त्रिक मूल्य र मान्यताको समेत उपहास हुने दाबी गरेको छ।
मुख्यमन्त्री थापामगरले आज दिउँसो ४ बजे विश्वासको मत लिने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी कांग्रेसले आफ्ना सांसदलाई प्रक्रियामै सहभागी नहुन ह्विप जारी गरेपछि बागमती प्रदेशसभाको बैठक थप राजनीतिक रूपमा पेचिलो बनेको छ।







