ओलीले असन्तुष्टि जनाएको एमाले पुनर्गठन सम्बन्धी प्रतिवेदन अलपत्र, पुनर्लेखनको जिम्मा बादललाई (पूर्णपाठ)

User Image Prime TV News २ हप्ता अगाडि
Image of ओलीले असन्तुष्टि जनाएको एमाले पुनर्गठन सम्बन्धी प्रतिवेदन अलपत्र, पुनर्लेखनको जिम्मा बादललाई (पूर्णपाठ)

काठमाडौ । नेकपा एमालेको पार्टी पुनर्गठनसम्बन्धी कार्यदलले तयार पारेको प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीको असन्तुष्टिपछि अलपत्र परेको छ।

सातै प्रदेशबाट सुझाव संकलन गरेर तयार पारिएको मस्यौदामा ओलीले आपत्ति जनाएपछि उनले प्रतिवेदन पुनर्लेखन गर्न निर्देशन दिएका हुन्। एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा गठन भएको १५ सदस्यीय कार्यदलले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनसम्बन्धी सुझाव समेटेर प्रतिवेदन तयार पारेको थियो।

कार्यदलका सदस्य सचिव तथा महासचिव शंकर पोखरेलले सातै प्रदेशका नेता–कार्यकर्ताबाट प्राप्त सुझावका आधारमा मस्यौदा तयार गरेका थिए। उक्त मस्यौदामा पार्टी कमजोर बन्नुमा नेतृत्वका रूपमा अध्यक्ष ओलीले समेत जिम्मेवारी लिनुपर्ने सुझाव समेटिएको बताइएको छ।

मस्यौदा प्रतिवेदन कार्यदल संयोजक बादल हुँदै अध्यक्ष ओलीसमक्ष पुगेपछि ओलीले त्यसको अध्ययन गर्ने भन्दै करिब एक महिना रोकेका थिए। भदौ ४ गते उनले प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै पुनर्लेखन गर्न निर्देशन दिएको स्रोतको भनाइ छ।

ओलीको निर्देशनपछि कार्यदल संयोजक बादल आफैं प्रतिवेदन पुनर्लेखनमा जुटेका छन्। तर अब बादलले यसअघि तयार भएको मस्यौदालाई नै संशोधन गर्ने हुन् वा नयाँ प्रतिवेदन तयार गर्ने हुन् भन्ने विषयमा कार्यदलका सदस्यहरू नै अन्योलमा छन्।

एमाले सचिवालयको जेठ १० गते बसेको आठौँ बैठकले बादलको नेतृत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलमा बादलसहित उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट तथा सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल र भानुभक्त ढकाल सदस्य छन्। सातै प्रदेशका अध्यक्षसमेत कार्यदलमा सदस्य छन्।

कार्यदलले जेठ ३० गतेदेखि असार २५ गतेसम्म सातै प्रदेशमा नेता तथा कार्यकर्ताबाट सुझाव संकलन गरेको थियो। त्यसपछि बसेको बैठकले प्रतिवेदन लेखनको जिम्मा महासचिव पोखरेललाई दिएको थियो।

पोखरेलले तयार पारेको प्रतिवेदन बादलमार्फत अध्यक्ष ओलीसमक्ष पुगेको थियो। एमालेभित्र पछिल्लो समय पार्टीको नेतृत्व र पुनर्गठनको विषयमा मतभेद देखिँदै आएको छ। पार्टी कमजोर बन्नुमा नेतृत्वले जिम्मेवारी लिनुपर्ने र अध्यक्ष ओलीले पदबाट हटेर नयाँ नेतृत्वका लागि बाटो खोल्नुपर्ने मतसमेत पार्टीभित्र उठ्दै आएको बताइएको छ।

तर ओली भने अध्यक्ष पदबाट हट्नेभन्दा आफ्नै नेतृत्वमा सरकारविरुद्ध आन्दोलन अघि बढाउनुपर्ने पक्षमा देखिँदै आएका छन्। यसैबीच पुनर्गठन कार्यदलको प्रतिवेदनमै नेतृत्वको भूमिकाबारे सुझाव समेटिएपछि अध्यक्ष ओलीको असन्तुष्टि देखिएको र त्यसपछि प्रतिवेदन पुनर्लेखनको अवस्था आएको हो। अब बादलले तयार पार्ने संशोधित प्रतिवेदनमा नेतृत्व र पार्टी पुनर्गठनबारे कस्तो प्रस्ताव आउँछ भन्ने विषय एमालेभित्र चासोको विषय बनेको छ।