देशभर मनसुनी प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश क्षेत्रमा बदली र वर्षाको अवस्था छ।
हाल हिमाली र पहाडी भूभागमा सामान्यतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ। तराईका विभिन्न क्षेत्रमा पनि मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार कोशी र बागमतीका हिमाली तथा पहाडी भूभाग र गण्डकी तथा लुम्बिनीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा केही स्थानमा वर्षा र हिमपात हुन सक्नेछ। पहाडी तथा तराई भूभागका विभिन्न स्थानमा समेत मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
रातिको समयमा कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र बागमती, गण्डकी तथा लुम्बिनीका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
भारी वर्षा हुन सक्ने क्षेत्रमा गेग्रान बहाव, आकस्मिक बाढी, पहिरो तथा भूक्षयको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै सडक तथा हवाई यातायात, कृषि, पर्यटन र अन्य क्षेत्रमा समेत असर पर्न सक्ने भएकाले मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन आग्रह गरिएको छ।







