इरानमाथि अमेरिकी प्रतिबन्ध कडा भएपछि चीनको चेतावनी, ‘सबै आवश्यक कदम चाल्छौँ’
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । अमेरिकाले इरान र उसका प्रमुख व्यापारिक साझेदारमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउने घोषणा गरेपछि चीनले आफ्नो राष्ट्रिय हित र अधिकारको रक्षा गर्न ‘सबै आवश्यक कदम’ चाल्ने चेतावनी दिएको छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार इरानलाई आर्थिक रूपमा अलग्याउने उद्देश्यले ‘अपरेसन इकोनोमिक आउटकास्ट’ नामक नयाँ प्रतिबन्ध घोषणा गरेका थिए। त्यसको प्रतिक्रियामा चीनले अमेरिकी कदमको कडा विरोध जनाएको हो।
बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले संयुक्त राष्ट्र सुरक्षा परिषद्को स्वीकृतिबिना तथा अन्तर्राष्ट्रिय कानुनविपरीत लगाइने एकपक्षीय प्रतिबन्ध गैरकानुनी हुने बताए।
चीन र इरानबीचको व्यापारिक सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार भइरहेको दाबी गर्दै लिनले यस्तो सहकार्यमा कुनै पनि पक्षले हस्तक्षेप वा अवरोध गर्न नहुने बताए।
उनले आर्थिक युद्ध र अत्यधिक दबाबको नीतिले समस्या समाधान नगर्ने बरु विश्वव्यापी आर्थिक तथा वित्तीय व्यवस्थामा अस्थिरता बढाउने र अन्तर्राष्ट्रिय तनाव थप चर्काउने चेतावनी दिए।
अमेरिकाले इरानबाट इन्धन खरिद गर्ने वा इरानसँग वित्तीय कारोबार गर्ने जुनसुकै देश तथा संस्थालाई अमेरिकी वित्तीय प्रणालीबाट अलग्याउने चेतावनी दिएको छ। इरानी कच्चा तेलको सबैभन्दा ठूलो खरिदकर्ता चीन भएकाले नयाँ प्रतिबन्धले अमेरिका–चीन र चीन–इरानबीचको आर्थिक तथा कूटनीतिक तनाव थप बढ्न सक्ने देखिएको छ।
इरानका अर्थमन्त्री अली मदानीजादेले पनि अमेरिकी प्रतिबन्धको सामना गर्न इरान तयार रहेको बताएका छन्। उनले सरकारले आगामी दुई वर्षका लागि रणनीति तयार गरेको दाबी गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आगामी महिना तय भएको शिखर वार्ताअघि अमेरिकाले प्रतिबन्ध घोषणा गरेको हो। यसले दुई शक्तिराष्ट्रबीचको सम्बन्धमा थप तनाव सिर्जना गर्न सक्ने विश्लेषण गरिएको छ।
अमेरिकाले प्रतिबन्ध थप कडा बनाउँदै गएमा चीनले दुर्लभ खनिजको निर्यातमा कडाइ गरेर जवाफी कदम चाल्न सक्ने सम्भावनासमेत रहेको विश्लेषकहरूले बताएका छन्।







