रसुवाबाट आएको भीषण बाढीले नुवाकोटका तटीय बजारमा क्षति
Prime TV News २ हप्ता अगाडि 
नुवाकोट । रसुवा सीमा क्षेत्रबाट आएको भीषण बाढीले नुवाकोटका विभिन्न तटीय क्षेत्रमा ठूलो भौतिक क्षति पुर्याएको छ।
बाढीको बहाव बढेर बजार क्षेत्रमै प्रवेश गरेपछि बेत्रावती, त्रिशूली, ढुङ्गे र देवीघाटलगायतका क्षेत्रमा घर तथा अन्य भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीका अनुसार रसुवाको बोर्डर क्षेत्रबाटै बाढी सुरु भएको हो। बाढीको तीव्र बहाव तटीय बस्ती र बजार क्षेत्रमा पसेपछि भौतिक संरचनामा क्षति पुगेको उनले बताए।
प्रजिअ रेग्मीका अनुसार बेत्रावती बजारदेखि देवीघाटसम्मका तटीय क्षेत्रमा बाढीले क्षति पुर्याएको खबर आएको छ। विशेषगरी बेत्रावती, त्रिशूली बजार, ढुङ्गे र देवीघाट क्षेत्रमा भौतिक संरचनामा क्षति पुगेको सुरक्षाकर्मीबाट प्रारम्भिक रिपोर्ट प्राप्त भएको छ। बाढीका कारण बजार क्षेत्रमा पानीको बहाव बढेपछि स्थानीयमा त्रास फैलिएको छ। प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी अवस्थाको निगरानी भइरहेको प्रशासनले जनाएको छ।
हालसम्म मानवीय क्षतिको आधिकारिक पुष्टि भएको छैन। तर बाढीको अवस्था भयावह रहेकाले मानवीय क्षतिको सम्भावनालाई नकार्न नसकिने प्रजिअ रेग्मीले बताए। उनले क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिए।
प्रशासनका अनुसार बाढीबाट प्रभावित क्षेत्रका घर, व्यवसायिक संरचना तथा अन्य पूर्वाधारमा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ। सुरक्षाकर्मी तथा स्थानीय प्रशासनले प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी संकलन गरिरहेका छन्।
अचानक आएको ठूलो बाढीका कारण त्रिशूली नदी आसपासका तटीय क्षेत्रमा जोखिम बढेकाले स्थानीय प्रशासनले नदी किनारमा रहेका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ। बाढीको थप प्रभाव र क्षतिको विवरण प्राप्त हुने क्रम जारी रहेको प्रशासनले जनाएको छ।







