भोटेकोसीको भीषण बाढी त्रिशूली हुँदै मुग्लिनतर्फ, नदी किनारका बस्ती खाली गर्न आग्रह

User Image Prime TV News २ हप्ता अगाडि
Image of भोटेकोसीको भीषण बाढी त्रिशूली हुँदै मुग्लिनतर्फ, नदी किनारका बस्ती खाली गर्न आग्रह

काठमाडौ । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढी त्रिशूली नदी हुँदै तीव्र गतिमा दक्षिणतर्फ बढिरहेको छ।

बाढी पूर्वानुमान महाशाखाले बुधबार बिहान १०ः५१ बजे जारी गरेको पछिल्लो अपडेटअनुसार बाढी धादिङको गल्छी आसपास पुगिसकेको छ भने अबको केही घण्टामा मुग्लिन क्षेत्र पार गर्ने क्रममा रहेको जनाएको छ।

बाढीको सतह निरन्तर बढ्दै गएपछि महाशाखाले त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्रमा उच्च जोखिम रहेको जनाएको छ। महाशाखाले पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ सडकखण्ड तथा त्रिशूली नदी किनारका सम्पूर्ण बस्ती र बजार क्षेत्र खाली गर्न आग्रह गरेको छ।

महाशाखाले तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ जान अपिल गर्दै नदी आसपास नबस्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। भोटेकोसीबाट आएको बाढी त्रिशूली नदीमा मिसिएर तीव्र गतिमा तलतर्फ बढिरहेकाले धादिङ, चितवनलगायत त्रिशूली नदी आसपासका क्षेत्रमा जोखिम बढेको छ। विशेषगरी नदी किनारमा रहेका बस्ती, बजार, सडक तथा पुल आसपासका क्षेत्रमा थप सावधानी अपनाउन आवश्यक देखिएको छ।

बाढीको बहाव र सतहमा भइरहेको परिवर्तनलाई ध्यानमा राख्दै स्थानीय प्रशासन तथा सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने तयारी गरिरहेका छन्। महाशाखाले त्रिशूली नदी छेउछाउका बस्ती तथा बजार क्षेत्र तत्काल खाली गरी उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। बाढीको अवस्था थप गम्भीर हुन सक्ने भएकाले स्थानीयवासीलाई प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ।