भोटेकोशी बाढीमा रसुवामा अकल्पनीय क्षति, १६ प्रहरी सम्पर्कविहीन

User Image Prime TV News २ हप्ता अगाडि
Image of भोटेकोशी बाढीमा रसुवामा अकल्पनीय क्षति, १६ प्रहरी सम्पर्कविहीन

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले जिल्लामा अकल्पनीय क्षति पुर्‍याएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले बताएका छन्।

बाढी प्रभावित क्षेत्रमा खटिएका २१ जना प्रहरीमध्ये १६ जना हालसम्म सम्पर्कमा आउन सकेका छैनन्। टिमुरेमा खटिएका पाँच जना प्रहरी भने सम्पर्कमा आएको प्रवक्ता काफ्लेले जानकारी दिए।उनका अनुसार स्याफ्रुबेँसीमा कार्यरत नौ जना प्रहरीसहित रसुवागढी र मैलुङ क्षेत्रमा खटिएका प्रहरी पनि सम्पर्कविहीन छन्।

बाढीले प्रहरी कार्यालय तथा संरचना बगाएको हो वा त्यहाँ कार्यरत प्रहरी कर्मचारीसमेत प्रभावित भएका हुन् भन्नेबारे अहिलेसम्म यकिन विवरण प्राप्त हुन नसकेको काफ्लेले बताए। भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा सम्पर्कसमेत विच्छेद भएको छ।

प्रभावित क्षेत्रमा प्रहरी तथा सुरक्षा निकायको अवस्थाबारे थप विवरण संकलन गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। बाढीको क्षति र सम्पर्कविहीन प्रहरीहरूको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन बाँकी रहेकाले घटनाको पूर्ण विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ।