भोटेकोशी बाढीपछि प्रधानमन्त्री बालेन शाहद्वारा आपत्कालीन बैठक आह्वान
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रधानमन्त्री बालेन शाहले आपत्कालीन बैठक बोलाएका छन्।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि तत्काल आवश्यक कदम चाल्न प्रधानमन्त्री शाहले राष्ट्रिय विपद् प्राधिकरणका पदाधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूसहितको बैठक आह्वान गरेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पछिल्लो अवस्था, उद्धार तथा राहतको तयारी र सम्भावित जोखिम न्यूनीकरणका विषयमा छलफल हुनेछ।
प्रधानमन्त्री शाहले बाढी प्रभावितको तत्काल उद्धारलाई प्राथमिकतामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। साथै, तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम बढेकाले त्यहाँका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइसकेको सचिवालयले जनाएको छ।
भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ र चितवनतर्फका त्रिशूली नदी आसपासका क्षेत्रमा जोखिम बढेको छ। बाढीको बहाव तीव्र गतिमा तलतर्फ बढिरहेका कारण तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गर्दै आएको छ।
यसैबीच, रसुवामा बाढीका कारण ठूलो क्षति भएको प्रारम्भिक विवरणहरू सार्वजनिक भएका छन्। प्रभावित क्षेत्रमा खटिएका केही प्रहरीसमेत सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।







