भोटेकोशी बाढी धादिङमा आइपुग्यो, तटीय बस्ती धमाधम सुरक्षित स्थानमा सारिँदै

User Image Prime TV News २ हप्ता अगाडि
Image of भोटेकोशी बाढी धादिङमा आइपुग्यो, तटीय बस्ती धमाधम सुरक्षित स्थानमा सारिँदै

धादिङ । रसुवाबाट आएको भीषण बाढी त्रिशूली नदी हुँदै धादिङको गल्छी क्षेत्रसम्म आइपुगेपछि नदी तथा खोला किनारका बस्तीहरू उच्च जोखिममा परेका छन्।

जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालय धादिङले तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई धमाधम सुरक्षित स्थानमा सार्न थालेको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार बाढीले गल्छी क्षेत्रमा एउटा झोलुङ्गे पुलसमेत बगाएको छ।

त्रिशूली नदीमा बाढीको सतह निरन्तर बढ्दै गएपछि मलेखु र गल्छी क्षेत्रका खोला किनारमा रहेका बस्तीलाई प्राथमिकताका साथ खाली गराउन थालिएको उनले बताइन्। मानवीय क्षति हुन नदिन जिल्लाका सुरक्षा निकायका सबै टोलीलाई प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा परिचालन गरिएको प्रशासनले जनाएको छ।

स्थानीय तहसँग समन्वय गरी जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम भइरहेको छ। बाढीको जोखिम बढेपछि पृथ्वी राजमार्गमा सञ्चालन भइरहेका सवारीसाधनलाई समेत सुरक्षित स्थानमा होल्ड गरिएको छ।

सम्भावित दुर्घटना तथा बाढीका कारण सडकमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सवारीसाधनलाई तत्काल अगाडि बढ्न रोक लगाइएको प्रशासनले जनाएको छ। प्रजिअ गौतमका अनुसार सुरक्षा निकाय तथा विपद् व्यवस्थापनका टोलीहरू खोला र नदी किनारका क्षेत्रमा उच्च सतर्कताका साथ परिचालन भएका छन्। बाढीको अवस्थाबारे निरन्तर निगरानी भइरहेको छ।

प्रशासनले अहिलेको मुख्य प्राथमिकता मानवीय क्षति रोक्नु र जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा पुर्‍याउनु रहेको जनाएको छ। बाढीको बहाव अझै बढ्न सक्ने भएकाले त्रिशूली तथा अन्य खोला किनारका बस्तीका बासिन्दालाई सतर्क रहन र प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ।