रसुवा बाढी उद्धारका लागि निजी हेलिकप्टर समेत स्ट्यान्डबाइ राख्न प्रधानमन्त्रीको निर्देशन
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि उद्धार, राहत तथा खोजीकार्यलाई तीव्र बनाउन प्रधानमन्त्री बालेन शाहले निजी कम्पनीका हेलिकप्टरसमेत स्ट्यान्डबाइ राख्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत रसुवा बाढीमा उद्धार, राहत र खोजीकार्यका लागि आवश्यक सबै हेलिकप्टर तयारी अवस्थामा राख्न भनिएको जानकारी दिएका हुन्। उनले निजी हेलिकप्टर कम्पनीहरूलाई समेत आफ्ना हेलिकप्टर स्ट्यान्डबाइ राख्न जानकारी गराइएको बताएका छन्।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्। आवश्यकताअनुसार अन्य जिल्लाबाट समेत थप सुरक्षाकर्मी तथा जनशक्ति प्रभावित क्षेत्रमा पठाइएको उनले बताएका छन्।
प्रधानमन्त्रीका अनुसार विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाइएको छ। मेडिकल टोली, नेपाल स्काउट तथा रेडक्रसलगायतका संस्थासँग समन्वय गरी आवश्यक कदम चाल्न निर्देशन दिइएको छ। त्यसैगरी, प्रभावित क्षेत्रमा थप एम्बुलेन्स तथा मेडिकल जनशक्ति पठाउने प्रक्रिया अघि बढाइएको प्रधानमन्त्री शाहले बताएका छन्।
बाढीको जोखिम बढेका कारण तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको उनले जानकारी दिएका छन्। जोखिममा रहेका नागरिकलाई एसएमएस तथा कलमार्फत समेत सूचना दिई सुरक्षित स्थानतर्फ जान अलर्ट गरिएको उनले बताएका छन्।
बाढीबाट भएको क्षति तथा उद्धारको पछिल्लो अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री शाहले केही बेरमै उच्चस्तरीय बैठकसमेत बोलाइएको जानकारी दिएका छन्। बैठकमा उद्धार, राहत, खोजी तथा जोखिममा रहेका नागरिकको तत्काल स्थानान्तरणका विषयमा थप निर्णय हुने अपेक्षा गरिएको छ।







