रसुवाको बाढीले झोलुङ्गे पुल बग्यो, पृथ्वी राजमार्गमा आवागमन रोकियो
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । रसुवाबाट आएको भीषण बाढी त्रिशूली नदी हुँदै धादिङको गल्छी क्षेत्रमा प्रवेश गरेसँगै क्षति हुन थालेको छ।
बाढीले गल्छीमा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ भने नदीको सतह बढ्दै जाँदा आसपासका बस्ती तथा सडक क्षेत्रमा समेत जोखिम बढेको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार जिल्लामा अहिलेसम्म ठूलो मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।
तर, झोलुङ्गे पुल बगाएपछि गल्छी क्षेत्र थप जोखिममा परेको र बाढीको अवस्था निरन्तर निगरानीमा राखिएको उनले बताइन्। बाढीको जोखिम बढेपछि जिल्ला प्रशासनले खोला तथा नदी किनारमा रहेका जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालेको छ। विशेषगरी मलेखु र गल्छी क्षेत्रका तटीय बस्तीका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्गमा सवारी आवागमनसमेत रोकिएको छ। काठमाडौं हुँदै बाहिरिएका सवारीसाधनलाई गल्छी क्षेत्रमा रोकिएको छ भने बाटोमा रहेका सवारीलाई अग्लो तथा सुरक्षित स्थानमा होल्ड गरिएको प्रशासनले जनाएको छ।
बाढीको सतह निरन्तर बढिरहेकाले प्रशासनले जोखिमयुक्त क्षेत्रमा सुरक्षा निकाय परिचालन गरेको छ। सम्भावित मानवीय क्षति रोक्न आवश्यक उद्धार तथा सुरक्षा तयारीलाई तीव्र पारिएको छ।बाढीको बहाव अझै बढ्न सक्ने भएकाले त्रिशूली तथा खोला किनारका बस्तीमा रहेका नागरिकलाई नदी तथा खोलाको किनारबाट टाढा रहन र प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ।







