रसुवाको बाढीले जलविद्युत आयोजना र प्रसारण संरचनामा क्षति, विद्युत आपूर्ति प्रभावित

User Image Prime TV News २ हप्ता अगाडि
Image of रसुवाको बाढीले जलविद्युत आयोजना र प्रसारण संरचनामा क्षति, विद्युत आपूर्ति प्रभावित

काठमाडौ । रसुवामा बुधबार आएको भीषण बाढीले नेपाल विद्युत प्राधिकरणका विभिन्न जलविद्युत आयोजना, सबस्टेसन तथा प्रसारण र वितरण संरचनामा क्षति पुर्‍याएको छ।

ऊर्जा पूर्वाधारमा क्षति पुगेपछि रसुवा तथा आसपासका क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे, त्रिशूली–३ ‘ए’ जलविद्युत केन्द्र तथा त्रिशूली–३ ‘बी’ हबको २२० केभी सबस्टेसनमा क्षति पुगेको छ।

त्यस्तै, त्रिशूली र देवीघाट जलविद्युत केन्द्र तथा विभिन्न वितरण संरचनासमेत बाढीबाट प्रभावित भएका छन्। विद्युत उत्पादन, प्रसारण तथा वितरण प्रणालीका महत्वपूर्ण संरचनामा क्षति पुगेपछि केही क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले क्षतिग्रस्त संरचनाको अवस्था मूल्यांकन गर्दै विद्युत आपूर्ति यथाशीघ्र नियमित गर्न प्रयास भइरहेको जनाएको छ। विद्युत आपूर्ति नियमित नहुन्जेल उपभोक्तालाई धैर्य गर्न आग्रह गर्दै प्राधिकरणले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित निकायलाई प्रभावकारी रूपमा परिचालन हुन अनुरोध गरेको छ।

बाढीका कारण विद्युत संरचनासँगै घर, सडक, पुललगायतका अन्य भौतिक पूर्वाधारमा समेत ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। क्षतिको विस्तृत विवरण भने संकलन भइरहेको प्राधिकरणले जनाएको छ। बाढीको जोखिम अझै कायम रहेकाले नदी तथा खोला आसपासका क्षेत्र, तटीय बस्ती र अन्य जोखिमयुक्त स्थानमा रहेका सर्वसाधारण तथा प्राधिकरणका कर्मचारीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्राधिकरणले बाढी तथा विद्युत आपूर्तिसम्बन्धी आधिकारिक सूचनालाई मात्र आधार मान्न र अपुष्ट समाचार तथा अफवाहमा विश्वास नगर्न समेत आग्रह गरेको छ। यसअघि पनि रसुवामा बाढीका कारण जलविद्युत आयोजना तथा प्रसारण संरचनामा क्षति पुगेको थियो। पछिल्लो घटनाले पुनः ऊर्जा पूर्वाधारमा ठूलो असर पारेपछि विद्युत उत्पादनदेखि प्रसारण र वितरणसम्मको प्रणालीमा थप दबाब परेको छ।