सेनाको हेलिकोप्टरबाट बाढी प्रभावित १२ जनाको उद्धार
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । रसुवामा बुधबार बिहान आएको भीषण बाढीपछि नेपाली सेनाले हेलिकोप्टरमार्फत १२ जनाको उद्धार गरेको छ।
नेपाली सेनाका अनुसार बाढी प्रभावित क्षेत्रबाट स्याफ्रुबेँसीका ६, मैलुङका २ र धुन्चेका ४ जना गरी हालसम्म १२ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। सेनाले उद्धार कार्यलाई तीव्र बनाउन प्रभावित क्षेत्रमा नेपाली सेनाका चार र निजी कम्पनीका आठ गरी १२ वटा हेलिकोप्टर परिचालन गरिएको जनाएको छ।
बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेपछि जोखिममा परेका नागरिकको खोज तथा उद्धारलाई प्राथमिकता दिइएको सेनाले जनाएको छ। प्रभावित क्षेत्रमा थप उद्धार आवश्यक परे हेलिकोप्टरमार्फत उद्धार कार्य जारी राखिने बताइएको छ।
यसैबीच, नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा सञ्चालन गरिरहेको छ। बाढी प्रभावित तथा उद्धार गरी ल्याइएका घाइतेलाई आवश्यक उपचार उपलब्ध गराउन मेडिकल टोली परिचालन गरिएको सेनाले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहेकाले थप विवरण आउने क्रम जारी छ।







