बाढी प्रभावित चार जिल्लामा नेपाल टेलिकमको फोन र डेटा निःशुल्क

User Image Prime TV News २ हप्ता अगाडि
Image of बाढी प्रभावित चार जिल्लामा नेपाल टेलिकमको फोन र डेटा निःशुल्क

काठमाडौ । सरकारले बाढी प्रभावित चार जिल्लामा नेपाल टेलिकमको फोन तथा डेटा सेवा निःशुल्क गर्ने निर्णय गरेको छ।

अर्थ मन्त्रालयका अनुसार विपद्का बेला उद्धार, राहत तथा खोजी कार्यमा सहजता ल्याउन र प्रभावित नागरिकबीच आवश्यक समन्वयका लागि नेपाल टेलिकमको सञ्चार सेवा निःशुल्क गरिएको हो। बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन गरिएको यो व्यवस्थाले उद्धारमा खटिएका सुरक्षाकर्मी, स्थानीय प्रशासन तथा सर्वसाधारणलाई आवश्यक सूचना आदानप्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसैबीच, सरकारले बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजी कार्यमा परिचालन हुने निजी हेलिकप्टरलाई अनुमति लिन नपर्ने व्यवस्था समेत मिलाएको छ। तत्काल उद्धार तथा राहत आवश्यक पर्ने अवस्थालाई ध्यानमा राख्दै निजी हेलिकप्टरको परिचालनलाई सहज बनाइएको अर्थ मन्त्रालयले जनाएको छ।

सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिँदै आवश्यक स्रोतसाधन परिचालन गरिरहेको जनाएको छ। सञ्चार सेवा निःशुल्क तथा निजी हेलिकप्टर परिचालनमा सहजीकरण गर्ने निर्णयले प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहत पुर्‍याउन सहयोग पुग्ने सरकारको अपेक्षा छ ।