बाढी प्रभावित क्षेत्रमा १२ हेलिकोप्टर परिचालन, १२ जनाको उद्धार

User Image Prime TV News २ हप्ता अगाडि
Image of बाढी प्रभावित क्षेत्रमा १२ हेलिकोप्टर परिचालन, १२ जनाको उद्धार

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन नेपाली सेना तथा निजी क्षेत्रका गरी १२ वटा हेलिकोप्टर परिचालन गरिएको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेनाका हेलिकोप्टरमार्फत स्याफ्रुबेँसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जना गरी हालसम्म १२ जनाको उद्धार गरिएको छ। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाका चार र निजी हेलिकोप्टर कम्पनीका आठ गरी १२ वटा हेलिकोप्टर परिचालन भइरहेका छन्।

जोखिमयुक्त स्थानमा फसेका नागरिकको उद्धार तथा आवश्यक राहत सामग्री पुर्‍याउन हेलिकोप्टर परिचालन गरिएको सेनाले जनाएको छ। यसैगरी, उद्धारका क्रममा घाइते तथा बिरामीलाई तत्काल उपचार सेवा उपलब्ध गराउन नेपाली सेनाको मेडिकल टोलीसमेत परिचालन गरिएको छ। मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले आवश्यकताअनुसार थप जनशक्ति तथा स्रोतसाधन परिचालन गरिने सेनाले जनाएको छ।