भोटेकोशी बाढीबाट भएको क्षतिप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त, नागरिकको उद्धार तथा राहत कार्यलाई तीव्रता दिन आग्रह

User Image Prime TV News २ हप्ता अगाडि
Image of भोटेकोशी बाढीबाट भएको क्षतिप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त, नागरिकको उद्धार तथा राहत कार्यलाई तीव्रता दिन आग्रह

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा र नुवाकोट हुँदै बग्ने भोटेकोशी नदीमा बुधबार बिहान अकस्मात आएको भीषण बाढीबाट भएको धनजनको क्षतिको खबरले आफू अत्यन्त दुःखी भएको बताएका छन्।

राष्ट्रपति पौडेलले विपद्को यस कठिन समयमा प्रभावित नागरिकको उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, सुरक्षा निकायसहित सबै सम्बन्धित निकाय र आम नागरिकलाई आह्वान गरेका छन्।

उनले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि आवश्यक स्रोतसाधन प्रभावकारी रूपमा परिचालन गर्न र जोखिममा रहेका नागरिकको जीवनरक्षालाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

त्यसैगरी, भोटेकोशी तथा त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन राष्ट्रपति पौडेलले आग्रह गरेका छन्। उनले जोखिमयुक्त क्षेत्रका नागरिकलाई आवश्यक समन्वय र सहयोगका साथ सुरक्षित रहन तथा विपद् व्यवस्थापनमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध गरेका छन्।

रसुवाबाट सुरु भएको बाढी त्रिशूली नदी हुँदै नुवाकोट र धादिङतर्फ समेत फैलिएकाले तल्लो तटीय क्षेत्रमा जोखिम बढेको छ। प्रभावित क्षेत्रमा सुरक्षा निकाय तथा उद्धार टोली परिचालन गरी खोज, उद्धार र राहत कार्य जारी राखिएको छ।