रसुवागढी भन्सारमा भीषण बाढीको कहर, ५०० नयाँ गाडी बगेको प्रारम्भिक अनुमान
Prime TV News २ हप्ता अगाडि 
रसुवा । रसुवामा बुधबार आएको भीषण बाढीले रसुवागढी भन्सार कार्यालयमा ठूलो क्षति पुर्याएको छ।
बाढीले भन्सार जाँचपासका लागि पार्किङ गरी राखिएका करिब ५०० वटा नयाँ सवारीसाधन बगाएको प्रारम्भिक अनुमान गरिएको छ। भन्सार विभागका निर्देशक किशोर बर्तौलाका अनुसार बाढीले भन्सार क्षेत्रमा कल्पनै गर्न नसकिने क्षति पुर्याएको छ।
चीनबाट आयात गरिएका विद्युतीय तथा अन्य नयाँ सवारीसाधन जाँचपासका लागि भन्सार परिसरमा पार्किङ गरी राखिएका थिए। ‘बाढीले कल्पनै गर्न नसकिने क्षति पुर्याएको छ। करिब ५ सय गाडी बाढीले बगाएको अनुमान छ,’ निर्देशक बर्तौलाले भने।
उनका अनुसार बाढीपछि भन्सार क्षेत्रमा ठूलो क्षति भएको छ र त्यहाँका अधिकांश संरचना तथा सामग्री बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनास्थलमा पुगेर क्षतिको यकिन विवरण संकलन गर्न कठिनाइ भइरहेकाले हालको तथ्यांक प्रारम्भिक अनुमानमा आधारित रहेको विभागले जनाएको छ।
यसैबीच, रसुवागढी भन्सार कार्यालयमा कार्यरत करिब दुई दर्जन कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्। कार्यालयमा जम्मा ४० जना कर्मचारी कार्यरत रहेकोमा ठूलो संख्यामा कर्मचारी सम्पर्कमा नआएको निर्देशक बर्तौलाले जानकारी दिए।
बाढीका कारण भन्सार कार्यालयको नियमित कामकाजसमेत प्रभावित भएको छ। सम्पर्कविहीन कर्मचारीको अवस्था पत्ता लगाउने तथा प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अघि बढाउने प्रयास भइरहेको छ। बाढीबाट रसुवामा भौतिक पूर्वाधारसँगै सरकारी कार्यालय, जलविद्युत आयोजना, सडक तथा पुलमा समेत ठूलो क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भइरहेका छन्।
घटनाको विस्तृत क्षति विवरण भने खोज तथा उद्धार कार्यसँगै संकलन भइरहेको छ।







