प्रधानमन्त्रीसँग प्रतिनिधिसभामा हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित

User Image Prime TV News २ हप्ता अगाडि
Image of प्रधानमन्त्रीसँग प्रतिनिधिसभामा हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौ । प्रतिनिधिसभाको आजको बैठकमा हुने भनिएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ।

दिउँसो १ बजेका लागि तय गरिएको कार्यक्रम मुलुकका विभिन्न जिल्लामा बाढीले ठूलो क्षति पुर्‍याएपछि स्थगित गरिएको हो। तिब्बततर्फबाट आएको भीषण बाढीका कारण रसुवासहित विभिन्न जिल्लामा जनधन तथा भौतिक संरचनामा क्षति पुगेपछि प्रधानमन्त्री बालेन्द्र शाह विपद्पछिको खोज, उद्धार तथा राहत कार्यका विषयमा विभिन्न संयन्त्रसँगको छलफलमा व्यस्त छन्।

विपद्को संवेदनशील अवस्थालाई ध्यानमा राख्दै अन्य विषयमा छलफल नगर्ने गरी प्रश्नोत्तर कार्यक्रम स्थगित गर्न लागिएको संघीय संसद् सचिवालय स्रोतले जनाएको छ। प्रश्नोत्तर कार्यक्रम स्थगित भए पनि प्रतिनिधिसभामा बाढी तथा विपद्को अवस्थाबारे छलफल हुने भएको छ।

बैठकमा गृहमन्त्री सुधन गुरुङले रसुवामा आएको बाढी तथा त्यसबाट भएको क्षतिबारे संसद्लाई आधिकारिक जानकारी गराउने तयारी छ। बाढीको गम्भीर अवस्थालाई मध्यनजर गर्दै प्रतिनिधिसभाको आजको बैठकका अन्य सम्भावित कार्यसूचीसमेत हटाइएको जनाइएको छ।

रसुवाबाट सुरु भएको बाढी त्रिशूली नदी हुँदै नुवाकोट, धादिङलगायतका तल्लो तटीय क्षेत्रमा पुगेपछि विभिन्न स्थानमा क्षति पुगेको छ। सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।