रसुवा बाढीपछि स्वास्थ्य मन्त्रालयले सक्रिय बनायो स्वास्थ्य आपतकालीन प्रणाली

User Image Prime TV News २ हप्ता अगाडि
Image of रसुवा बाढीपछि स्वास्थ्य मन्त्रालयले सक्रिय बनायो स्वास्थ्य आपतकालीन प्रणाली

काठमाडौ । रसुवामा आएको भीषण बाढीबाट हुन सक्ने मानवीय क्षतिलाई ध्यानमा राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य आपतकालीन प्रणाली सक्रिय बनाएको छ।

मन्त्रालयले बाढी प्रभावित क्षेत्रका स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई सतर्क अवस्थामा राख्दै घाइतेको तत्काल उपचार र आवश्यक परे माथिल्लो तहका अस्पतालमा रिफर गर्ने व्यवस्था मिलाएको जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीका अनुसार बाढीको सूचना प्राप्त भएलगत्तै मन्त्रालय बिहानैदेखि सतर्क अवस्थामा छ। प्रभावित क्षेत्रका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ भने मन्त्रालयअन्तर्गतको हेल्थ इमर्जेन्सी अपरेसन सेन्टर समेत सक्रिय पारिएको छ।

उनका अनुसार रसुवा तथा आसपासका स्वास्थ्य संस्थामा प्राथमिक उपचारसँगै बिरामीको अवस्थाअनुसार उपचारको प्राथमिकता निर्धारण गर्ने ‘ट्रायज’ प्रणाली लागू गरिनेछ। स्थानीय स्तरमा उपचार सम्भव नभएका गम्भीर घाइतेलाई हब अस्पतालमा रिफर गरी थप उपचार गर्ने पूर्वनिर्धारित विपद् कार्ययोजना कार्यान्वयनमा ल्याइएको छ।

मन्त्रालयले वीर अस्पताल, ट्रमा सेन्टर र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगायत प्रमुख हब अस्पताललाई सम्भावित गम्भीर घाइतेको उपचारका लागि तयारी अवस्थामा राखेको जनाएको छ। प्रभावित क्षेत्रका अस्पतालबाट रिफर भएर आउने बिरामीलाई काठमाडौंका ठूला अस्पतालमा व्यवस्थापन गर्ने तयारीसमेत गरिएको छ।

प्रवक्ता अधिकारीका अनुसार त्रिशूली अस्पताल, रसुवा अस्पताल, धुन्चे अस्पताल तथा आसपासका स्थानीय तहअन्तर्गतका स्वास्थ्य संस्थाबीच समन्वय गरी बिरामीको अवस्थाअनुसार स्थानीय स्तरमै उपचार गर्ने वा तत्काल माथिल्लो तहको अस्पतालमा पठाउने व्यवस्था मिलाइएको छ।

विपद्का लागि प्रत्येक अस्पतालमा पूर्वनिर्धारित कार्ययोजना रहेको भन्दै मन्त्रालयले स्थानीय अस्पतालबाट उपचार सम्भव नभए हब अस्पतालमा रिफर गर्ने र त्यहाँबाट गम्भीर बिरामीको व्यवस्थापन गर्ने प्रणाली सक्रिय गरिएको जनाएको छ।

बाढीबाट गम्भीर घाइते भएर काठमाडौं ल्याइएका व्यक्तिको यकिन संख्या भने तत्काल सार्वजनिक भइसकेको छैन। मन्त्रालयका अनुसार घाइते तथा प्रभावितको विवरण संकलन र अद्यावधिक गर्ने काम भइरहेको छ।

प्रवक्ता अधिकारीले गम्भीर घाइतेको विवरण पूर्ण रूपमा अद्यावधिक नभइसकेकाले थप तथ्यांक प्राप्त भएपछि सार्वजनिक गरिने बताएका छन्।