भोटेकोसी बाढीमा सात जनाको मृत्यु, नुवाकोट र धादिङमा शव भेटिए
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी हालसम्म सात जनाको मृत्यु भएको पुष्टि भएको छ।
नेपाल प्रहरीका अनुसार बुधबार मध्याह्नसम्म बाढी प्रभावित क्षेत्रबाट सात जनाको शव फेला परेको हो। बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीले नुवाकोट र धादिङका विभिन्न नदी किनारबाट शव फेला परेको जानकारी दिए।
उनका अनुसार नुवाकोटको नदी किनारमा तीन जना र धादिङमा चार जनाको शव भेटिएको छ। बाढी त्रिशूली नदी हुँदै तल्लो तटीय क्षेत्रमा तीव्र गतिमा बढिरहेका कारण खोज तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा टोली परिचालन भएका छन्।
बाढीका कारण रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो भौतिक क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। कैयौँ संरचना तथा सडक–पुलमा क्षति पुगेको छ भने केही व्यक्ति अझै सम्पर्कविहीन रहेको बताइएको छ।
प्रहरी तथा सुरक्षा निकायले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी राखेका छन्। मृतकको पहिचान तथा घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।







