भोटेकोसीमा पुनः बाढी आउन सक्ने चेतावनी, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

User Image Prime TV News २ हप्ता अगाडि
Image of भोटेकोसीमा पुनः बाढी आउन सक्ने चेतावनी, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौ । रसुवाको भोटेकोसी नदीमा पुनः बाढी आउन सक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभागले तटीय क्षेत्रका बासिन्दा तथा उद्धारमा खटिएका टोलीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

चिनियाँ पक्षबाट भोटेकोसीमा पुनः बाढी आउन सक्ने सूचना प्राप्त भएको विभागका एक अधिकारीले जानकारी दिएका छन्। उनका अनुसार चीनतर्फ फुटेको भनिएको हिमताल क्षेत्रमा अझै ठूलो मात्रामा पानी थुनिएको अवस्था रहेको र त्यसबाट पुनः बाढी आउन सक्ने जोखिम रहेको छ।

चिनियाँ पक्षले दिएको जानकारीअनुसार पानी थुनिएर बनेको करिब सात मिटर अग्लो बाँधजस्तो संरचना जुनसुकै बेला फुट्न सक्ने अवस्था रहेको अधिकारीले बताए। त्यसैले भोटेकोसी तथा त्यसबाट प्रभावित हुन सक्ने तल्लो तटीय क्षेत्रमा सर्वसाधारणलाई नजान आग्रह गरिएको छ। बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक र अन्य सबै टोलीलाई समेत विशेष सावधानी अपनाउन भनिएको छ।

यसअघि आएको भीषण बाढीले रसुवामा ठूलो जनधन तथा भौतिक क्षति पुर्‍याएको छ भने बाढी त्रिशूली नदी हुँदै नुवाकोट, धादिङलगायतका तल्लो तटीय क्षेत्रमा समेत पुगेको छ। पुनः बाढी आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रशासन तथा सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रको निगरानी बढाउनुपर्ने र प्रभावित क्षेत्रबाट सर्वसाधारणलाई सुरक्षित स्थानमा राख्नुपर्ने देखिएको छ।

विभागले आधिकारिक सूचना तथा सुरक्षा निकायको निर्देशन पालना गर्न र अपुष्ट सूचना तथा अफवाहमा विश्वास नगर्न समेत आग्रह गरेको छ।