तिब्बतमा हिमपहिरोपछि नदी थुनिएर त्रिशूलीमा विनाशकारी बाढी आएको हुनसक्ने

User Image Prime TV News २ हप्ता अगाडि
Image of तिब्बतमा हिमपहिरोपछि नदी थुनिएर त्रिशूलीमा विनाशकारी बाढी आएको हुनसक्ने

काठमाडौ । तिब्बत क्षेत्रबाट सुरु भई बुधबार बिहान त्रिशूली नदीमा आएको विनाशकारी बाढीको वास्तविक कारणबारे अध्ययन भइरहेको छ।

प्रारम्भिक विवरणअनुसार नेपाल–चीन सीमा क्षेत्रको तिब्बततर्फ ठूलो हिमपहिरो गएर नदी थुनिएपछि बनेको अस्थायी ताल फुट्दा अचानक ठूलो बाढी आएको हुनसक्ने विज्ञहरूले बताएका छन्। चिनियाँ एकेडेमी अफ साइन्समा कार्यरत हिमताल तथा हिमबाढी जोखिम अनुसन्धानकर्ता नितेश खड्काका अनुसार चिनियाँ सहकर्मीहरूसँगको प्रारम्भिक छलफलमा तिब्बतको केरुङ क्षेत्रअन्तर्गत पर्ने जिलोङ काउन्टीमा यस्तो घटना भएको हुनसक्ने अनुमान गरिएको हो।

खड्काका अनुसार दोङलिङ साङ्पो (पेलियन) खोलामा हिमपहिरो खसेर केही समय नदी थुनिएको र त्यसबाट बनेको ताल फुटेपछि त्रिशूलीमा अचानक ठूलो बाढी आएको हुनसक्छ। यद्यपि, उक्त क्षेत्रमा रहेका हिमतालहरू तुलनात्मक रूपमा साना भएकाले एउटा मात्रै हिमताल फुटेर यति ठूलो विनाशकारी बाढी आएको निष्कर्षमा पुग्न भने हतार गर्न नहुने उनको भनाइ छ।

उनले बाढीको प्रकृतिलाई भारतको चामोलीमा भएको ठूलो हिमपहिरोको घटनासँग तुलना गर्दै यसलाई ठूलो स्तरको प्राकृतिक विपद्का रूपमा व्याख्या गरेका छन्। सिक्किमको दक्षिण लोनाक ताल फुटेजस्तो ठूलो हिमताल त्रिशूलीको माथिल्लो वा तल्लो तटीय क्षेत्रमा नरहेकाले पछिल्लो घटना विभिन्न प्राकृतिक कारणहरूको संयुक्त प्रभाव हुनसक्ने उनको विश्लेषण छ।

वर्षायाममा नदीको बहाव सामान्यतः उच्च हुने भएकाले माथिल्लो क्षेत्रमा नदी थुनिँदा तल्लो क्षेत्रमा पानीको बहाव घटेको तत्कालै पहिचान हुन नसकेको हुनसक्ने खड्काले बताए। पछि थुनिएको पानी एक्कासि बाहिरिँदा बाढीले विनाशकारी रूप लिएको हुनसक्ने उनको अनुमान छ।

घटनाको वास्तविक अवस्था पत्ता लगाउन भू–उपग्रह (स्याटेलाइट) तस्बिरहरूको समेत अध्ययन भइरहेको उनले जानकारी दिए। बादल हटेपछि घटनास्थलको स्पष्ट तस्बिर प्राप्त हुने र त्यसबाट नदी थुनिएको स्थान, ताल बनेको अवस्था तथा बाढीको सम्भावित कारणबारे थप स्पष्ट हुन सक्ने उनको भनाइ छ।

खड्काका अनुसार तापक्रम वृद्धिका कारण सन् १९५० को दशकयता हिमालय क्षेत्रमा हिमताल बन्ने तथा विस्तार हुने क्रम तीव्र भएको छ। सन् १९८७ देखि २०१७ सम्मको अध्ययनले हिमतालहरूको क्षेत्रफल करिब २५ प्रतिशतले वृद्धि भएको देखाएको उनले बताए।

हिमतालहरूलाई ‘टाइम बम’को संज्ञा दिँदै उनले जलवायु परिवर्तनका कारण हिमताल फुट्ने जोखिम बढिरहेको बताए। उनका अनुसार हिमताल जुनसुकै बेला फुट्न सक्ने भएकाले हिमाली क्षेत्रमा नदीको जलाधार र हिमतालको निरन्तर निगरानी आवश्यक छ।

नेपालका ठूला नदी प्रणालीको ठूलो जलाधार क्षेत्र तिब्बतमा पर्ने भएकाले सीमापारबाट आउने बाढीको जोखिम नेपालमा सधैँ उच्च रहने उनले बताए। त्रिशूली, भोटेकोशी, तामाकोशी, मर्स्याङ्दी र अरुण लगायतका नदीमा माथिल्लो जलाधारमा हुने हिमपहिरो, हिमताल विस्फोट वा नदी थुनिने घटनाले नेपालतर्फ अचानक ठूलो बाढी ल्याउन सक्ने उनको भनाइ छ।

बुधबारको बाढीले रसुवासहित नुवाकोट, धादिङ र अन्य तल्लो तटीय क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति पुर्‍याएको छ। घटनाको वास्तविक कारण र क्षतिको विस्तृत विवरण भने थप अध्ययन तथा खोजीपछि मात्र स्पष्ट हुने भएको छ।