रसुवा, नुवाकोट र धादिङ तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

User Image Prime TV News २ हप्ता अगाडि
Image of रसुवा, नुवाकोट र धादिङ तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौ । सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले तीन जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्दै प्रभावित क्षेत्रमा आवश्यक सम्पूर्ण काम अघि बढाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्।

मन्त्रिपरिषद्ले बाढीबाट प्रभावित तीनै जिल्लामा उद्धार, राहत, पुनःस्थापना तथा आवश्यक पूर्वाधार व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ। बैठकले सबै मन्त्रीलाई आ–आफ्नो मन्त्रालयको कार्यक्षेत्रअन्तर्गत प्रभावित क्षेत्रमा आवश्यक काम पहिचान गरी फिल्डमै खटिन निर्देशन दिएको छ।

सम्बन्धित मन्त्रालयले आफ्ना निकाय तथा संयन्त्र परिचालन गरी तत्काल आवश्यक काम अघि बढाउनेछन्। भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवाबाट सुरु भएको विपद्को प्रभाव नुवाकोट र धादिङ हुँदै तल्लो तटीय क्षेत्रमा समेत परेको छ। बाढीले जनधनसँगै सडक, पुल, विद्युत् आयोजना, सरकारी संरचना तथा अन्य भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै प्रभावित जिल्लामा उद्धार तथा राहतसँगै क्षतिग्रस्त संरचनाको व्यवस्थापन र पुनःस्थापनाका कामलाई थप तीव्रता दिने तयारी गरेको छ।