बाढी प्रभावित क्षेत्रमा बिना अनुमति ड्रोन उडाउन सकिने, हेलिकोप्टरलाई सङ्केत दिन आगो बाल्न आग्रह
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई सहज र प्रभावकारी बनाउन विशेष व्यवस्था गरेको छ।
अब उद्धारका लागि बाढी प्रभावित क्षेत्रमा बिना अनुमति ड्रोन उडाउन सकिने भएको छ भने उद्धारको पर्खाइमा रहेका नागरिकले हेलिकोप्टरको ध्यान आकर्षित गर्न विभिन्न माध्यमबाट सङ्केत दिन सक्ने भएका छन्। बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले संकटग्रस्त घोषित जिल्लामा उद्धारमा सहयोग गर्न चाहने जोकोहीले उपलब्ध ड्रोन बिना पूर्वअनुमति सञ्चालन गर्न सक्ने जानकारी दिए।
उद्धार कार्यमा सहयोग गर्न चाहने ड्रोन सञ्चालकले सरकारको हटलाइन नम्बर १२३४ मा सम्पर्क गरी आवश्यक समन्वय गर्न सक्ने व्यवस्था गरिएको उनले बताए। यसैगरी, बाढीमा फसेका तथा उद्धारको पर्खाइमा रहेका नागरिकलाई हेलिकोप्टरबाट पहिचान गर्न सहज होस् भनेर आगो बालेर धुवाँ निकाल्न समेत सरकारले आग्रह गरेको छ। उद्धार टोलीले माथिबाट प्रभावित व्यक्ति तथा स्थान पहिचान गर्न यस्तो सङ्केत उपयोगी हुने सरकारको भनाइ छ।
प्रवक्ता पोखरेलका अनुसार प्रविधिको पहुँच भएका नागरिकले सम्बन्धित सहायक प्रमुख जिल्ला अधिकारीलाई ह्वाट्सएपमार्फत आफ्नो जियो–लोकेसन शेयर गरेर समेत उद्धार कार्यमा सहयोग पुर्याउन सक्नेछन्। सरकारले रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा र तनहुँलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्दै सबै सञ्चार तथा सुरक्षा संयन्त्रलाई उद्धार र राहत कार्यमा केन्द्रित हुन निर्देशन दिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि छिमेकी राष्ट्र चीन र भारतसँग समेत समन्वय भइरहेको प्रवक्ता पोखरेलले जानकारी दिए। उनका अनुसार आवश्यकताअनुसार परिचालन गर्न ११ वटा हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ। सरकारले विपद्को यस अवस्थामा नागरिकलाई सुरक्षित स्थानमा रहन, प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गर्न र उद्धार कार्यमा सम्भव भएसम्म सहयोग गर्न आग्रह गरेको छ।







