कृति अवार्ड २०८३ को आधिकारिक घोषणा, ३१ विधामा ५५ अवार्डका लागि प्रतिस्पर्धा
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपालको विज्ञापन उद्योगको प्रतिष्ठित सम्मान ‘कृति अवार्ड २०८३’ आयोजना हुने भएको छ।
नेपाल विज्ञापन संघ (आन)को आयोजना तथा मुख्य प्रायोजक रेडबुलको सहकार्यमा आगामी महिना भव्य समारोहबीच अवार्ड वितरण गरिने भएको हो। कार्यक्रममा नेपाल मिडिया सोसाइटी, मिडिया एलायन्स नेपाल, ब्रोडकास्टिङ एसोसिएसन, एकोर्याब र ब्रोडकास्टर्स फोरम सहआयोजकका रूपमा रहेका छन्।
कृति अवार्डलाई नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाल सरकारको विज्ञापन बोर्डले इन्डोर्समेन्टसहित सम्बन्धन प्रदान गरेका छन्। नेपाली विज्ञापन, मार्केटिङ तथा सञ्चार क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने एजेन्सी, सिर्जनाकर्ता तथा ब्रान्डलाई सम्मान गर्दै आएको कृति अवार्ड यसपटक १३औँ संस्करणमा प्रवेश गरेको छ।
अवार्डले नेपाली मार्केटिङ क्षेत्रमा सिर्जनात्मकता, नवप्रवर्तन तथा उत्कृष्ट अभ्यासलाई प्रोत्साहन गर्ने महत्वपूर्ण मञ्चका रूपमा आफ्नो पहिचान बनाएको आयोजकको भनाइ छ। यस वर्ष टेलिभिजन, छापा, रेडियो, डिजिटल, प्रिन्ट, सामाजिक सञ्जाल तथा एकीकृत अभियानलगायत क्षेत्र समेटेर ३१ विधामा ५५ वटा अवार्ड प्रदान गरिनेछ। आयोजकका अनुसार डिजिटल, इभेन्ट्स र इन्टेग्रेटेड गरी तीन नयाँ क्षेत्रसहित यसपटक २४ वटा नयाँ विधा थप गरिएको छ।
अवार्डको मूल्यांकन प्रक्रियालाई पारदर्शी र विश्वसनीय बनाउन काठमाडौं विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. विजय केसीको अध्यक्षतामा जुरी गठन गरिएको छ। जुरीमा वरिष्ठ सञ्चारकर्मी भारती सिलवाल गिरी, वरिष्ठ मार्केटिङ विज्ञ रबिन्द्रमान श्रेष्ठलगायत क्षेत्रगत विशेषज्ञहरू सहभागी छन्।
जुरीले विषयगत मूल्यांकनकर्ताको मनोनयन गरी प्रतिस्पर्धामा सहभागी सिर्जनात्मक कार्यको मूल्यांकन गर्ने र उत्कृष्टलाई विजेता घोषणा गर्नेछ। आनका अनुसार कृति अवार्ड २०८३ का लागि मनोनयन दर्ता प्रक्रिया खुला भइसकेको छ।
इच्छुक विज्ञापन एजेन्सी तथा ब्रान्डले २०८० वैशाख १ गतेदेखि २०८३ असार मसान्तसम्म उत्पादन तथा प्रदर्शन भएका सिर्जनात्मक कार्यहरू प्रतिस्पर्धाका लागि दर्ता गराउन सक्नेछन्। अवार्ड आयोजनाको घोषणा गर्दै आनका अध्यक्ष सुदीप थापाले यस वर्ष धेरै विधा समेटेर नेपाली विज्ञापन तथा मार्केटिङ क्षेत्रमा सिर्जनात्मकतालाई थप प्रोत्साहन गर्ने उद्देश्य राखिएको बताए।
उनका अनुसार नयाँ क्षेत्र र विधा थपिएसँगै विभिन्न माध्यममा उत्कृष्ट काम गरिरहेका सिर्जनाकर्ता तथा ब्रान्डलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने थप अवसर मिल्नेछ।







