नेपालमा बाढीपछि चिनियाँ राष्ट्रपति सीद्वारा उद्धार र राहतमा जुट्न निर्देशन

User Image Prime TV News २ हप्ता अगाडि
Image of नेपालमा बाढीपछि चिनियाँ राष्ट्रपति सीद्वारा उद्धार र राहतमा जुट्न निर्देशन

काठमाडौ । चीनको सीमावर्ती क्षेत्रबाट आएको भीषण बाढीले नेपालतर्फ ठूलो क्षति पुर्‍याएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्धार तथा राहत कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्।

राष्ट्रपति सीले बेपत्ता व्यक्तिको खोजी तथा उद्धारलाई प्राथमिकता दिन, जोखिममा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण तथा पुनःस्थापना गर्न र घाइतेको शीघ्र उपचार गरी मानवीय क्षति न्यून गर्न सक्दो प्रयास गर्न निर्देशन दिएका हुन्।

उनले विपद्को जोखिम न्यूनीकरणका लागि अनुगमन तथा पूर्वचेतावनी प्रणालीलाई थप प्रभावकारी बनाउन, वैज्ञानिक ढंगबाट उद्धार कार्य सञ्चालन गर्न तथा सम्भावित दोस्रो विपद् रोक्न आवश्यक कदम चाल्नसमेत जोड दिएका छन्।

चिनियाँ सरकारी सञ्चारमाध्यम सीआरआईका अनुसार राष्ट्रपति सीले चीन अहिले बाढी रोकथामका लागि महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै सम्बन्धित सबै क्षेत्र र विभागलाई बाढी तथा आँधीबाट हुने जोखिम न्यूनीकरणका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन्।

उनले विभिन्न जोखिम तथा लुकेका खतराको पहिचान गरी समयमै सुधार गर्न र ठूला विपद् तथा दुर्घटना रोक्न विशेष ध्यान दिन आग्रह गरेका छन्। नागरिकको जीवन तथा सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न सबै आवश्यक उपाय अवलम्बन गर्नुपर्ने उनको निर्देशन छ।

यसैगरी, चिनियाँ प्रधानमन्त्री ली छियाङले पनि विपद्बाट बेपत्ता तथा प्रभावित व्यक्तिको संख्या तत्काल यकिन गर्न र उद्धार तथा राहतका लागि आवश्यक जनशक्ति परिचालन गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री लीले जोखिममा रहेका नागरिकलाई तत्काल तथा व्यवस्थित रूपमा सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।

साथै, उद्धार तथा राहत कार्य प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताएका छन्। लीले चिनियाँ विदेश मन्त्रालयलाई सम्बन्धित देशसँग सञ्चार तथा समन्वय सुदृढ बनाउन, घटनाको अवस्थाबारे तत्काल जानकारी आदानप्रदान गर्न तथा उद्धार कार्यलाई संयुक्त रूपमा समन्वय गरी अघि बढाउन निर्देशन दिएका छन्।

राष्ट्रपति सी र प्रधानमन्त्री लीको निर्देशनपछि उपप्रधानमन्त्री झाङ गुओकिङले उद्धार तथा राहत कार्यको नेतृत्व र समन्वय गर्न सम्बन्धित विभागका अधिकारीलाई घटनास्थलतर्फ परिचालन गरेका छन्। नेपालतर्फ भने रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण ठूलो जनधन तथा भौतिक क्षति भएको छ।

बाढी त्रिशूली नदी हुँदै नुवाकोट, धादिङलगायतका तल्लो तटीय क्षेत्रमा समेत पुगेपछि नेपाल सरकारले उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाएको छ।