रसुवा बाढीमा ३८४ पर्यटक सम्पर्क विहीन, २९१ विदेशी

User Image Prime TV News २ हप्ता अगाडि
Image of रसुवा बाढीमा ३८४ पर्यटक सम्पर्क विहीन, २९१ विदेशी

काठमाडौ । रसुवामा बुधबार आएको भीषण बाढीका कारण विभिन्न क्षेत्रमा ३८४ जना आन्तरिक तथा बाह्य पर्यटक सम्पर्कविहीन भएका छन्।

नेपाल पर्यटन बोर्डले ट्राभल एजेन्सीबाट प्राप्त विवरणका आधारमा झन्डै चार सय पर्यटक सम्पर्कविहीन रहेको जनाएको हो। बोर्डका अनुसार सम्पर्कविहीन पर्यटकमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली रहेका छन्। बाढी प्रभावित क्षेत्रमा रहेका पर्यटकसँग सम्पर्क हुन नसकेपछि उनीहरूको अवस्थाबारे खोजी तथा समन्वय भइरहेको छ।

पर्यटक सम्पर्कविहीन रहेको विवरण ट्राभल एजेन्सी, पर्यटक गाइड, स्थानीय तह तथा सुरक्षा निकायसँगको समन्वय र पुष्टि गरेपछि सार्वजनिक गरिएको पर्यटन बोर्डले जनाएको छ। बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा सडक, पुल, सञ्चार तथा अन्य पूर्वाधारमा क्षति पुगेकाले प्रभावित क्षेत्रमा रहेका पर्यटकसँग सम्पर्क स्थापित गर्न कठिनाइ भएको बताइएको छ।

सम्पर्कविहीन पर्यटकको अवस्थाबारे थप विवरण संकलन तथा खोजी भइरहेको छ। उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन भइरहेका बेला पर्यटकको अवस्थालाई समेत प्राथमिकतामा राखेर खोजी अघि बढाइएको सम्बन्धित निकायले जनाएको छ।