विपद्मा नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता हुनुपर्छ : रवि लामिछाने
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । रष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्द्मा परेका नागरिकको उद्धार तथा जीवनरक्षाका लागि सरकारले आफ्नो सम्पूर्ण सामर्थ्य परिचालन गर्नुपर्ने बताएका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले संकटको समयमा नागरिकको जीवनरक्षा राज्यको पहिलो प्राथमिकता हुनुपर्ने बताए। उनले बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र आवश्यक सहयोगका लागि सरकारका सम्पूर्ण संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिए।
‘सरकारले सम्पूर्ण सामर्थ्य आफ्नो नागरिकलाई बचाउन लगाउनेछ,’ लामिछानेले भने।
विपद्को कठिन अवस्थामा प्रभावित नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउन तथा खोज र उद्धार कार्यलाई तीव्रता दिन सम्बन्धित सबै निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनले बताए।
उनले सुरक्षा निकाय, स्थानीय प्रशासन, स्वास्थ्य संस्था तथा अन्य सरकारी संयन्त्रलाई आवश्यकताअनुसार परिचालन गरी प्रभावित नागरिकको जीवनरक्षा र राहतलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।
रसुवाको भोटेकोशीबाट सुरु भएको भीषण बाढीका कारण विभिन्न जिल्लामा ठूलो जनधन तथा भौतिक क्षति भएको छ। बाढी त्रिशूली नदी हुँदै तल्लो तटीय क्षेत्रमा समेत फैलिएकाले प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी छ।







