भूकम्पपछि पहिरोले नदी थुनिँदा भोटेकोसीमा बाढी आएको सरकारको भनाई
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । रसुवाको भोटेकोसी नदीमा बुधबार बिहान आएको भीषण बाढीको मुख्य कारण भूकम्पपछि गएको ठूलो पहिरो भएको प्रारम्भिक जानकारी सरकारले दिएको छ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै परराष्ट्रमन्त्री शिशिर खनालले बिहान करिब ८ः४० बजे भोटेकोसीमा अचानक ठूलो बाढी आएको जानकारी गराएका हुन्। मन्त्री खनालले प्राप्त प्रारम्भिक सूचनाअनुसार बिहान ८ः३७ बजे भूकम्प गएको र त्यसपछि ठूलो पहिरो खसेर नदी थुनिँदा बाढी आएको देखिएको बताए।
‘आज बिहान ८ बजेर ३७ मिनेटमा भूकम्प गएको र त्यसका कारण ठूलो पहिरो खसेर नदी थुनिएपछि बाढी आएको देखिएको छ,’ मन्त्री खनालले सदनमा भने। नदी पहिरोका कारण केही समय थुनिएपछि थुनिएको पानी एक्कासि बाहिरिँदा भोटेकोसीमा विनाशकारी बाढी आएको हुनसक्ने सरकारको प्रारम्भिक आकलन छ।
घटनाको वास्तविक कारण र क्षतिको पूर्ण विवरण भने थप अध्ययनपछि मात्र स्पष्ट हुने बताइएको छ। मन्त्री खनालले बाढीबाट भएको जनधन तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन भइरहेको जानकारी दिए। सरकारले प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत कार्य अघि बढाइसकेको उनले सदनलाई जानकारी गराए।
घटनाको यथार्थ अवस्था बुझ्न तथा आवश्यक सहयोग र समन्वयका लागि छिमेकी राष्ट्रहरूसँग समेत सम्पर्क भइरहेको मन्त्री खनालले बताए। भोटेकोसीमा आएको बाढीका कारण रसुवासहित नुवाकोट, धादिङलगायतका तल्लो तटीय क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ। प्रभावित क्षेत्रमा सुरक्षा निकाय परिचालन गरी खोज, उद्धार तथा राहत कार्य जारी राखिएको छ।







