त्रिशूलीमा आएको बाढीबाट १६ जनाको मृत्यु, ३६ घाइते
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । तिब्बततर्फबाट रसुवाको त्रिशूली नदीमा आएको भीषण बाढीबाट हालसम्म १६ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्।
बागमती प्रदेश प्रहरी कार्यालयले बुधबार पौने ४ बजे दिएको पछिल्लो विवरणअनुसार बाढीबाट रसुवामा १, नुवाकोटमा ९ र धादिङमा ६ जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार मृतकमध्ये सात महिला र आठ पुरुष छन् भने एक जनाको पहिचान खुल्न सकेको छैन।
बाढी प्रभावित क्षेत्रमा घाइतेको उद्धार तथा उपचार कार्यसमेत जारी रहेको प्रहरीले जनाएको छ। हालसम्म रसुवाबाट १३, नुवाकोटबाट १९ र धादिङबाट ३ जना घाइतेको उद्धार गरिएको छ। बाढीको तीव्र बहावका कारण त्रिशूली नदी आसपासका विभिन्न बस्ती तथा बजार क्षेत्रमा ठूलो क्षति पुगेको छ।
सडक, पुल, विद्युत् संरचना तथा अन्य भौतिक पूर्वाधारमा समेत क्षति पुगेपछि प्रभावित क्षेत्रमा आवागमन र सञ्चारसमेत प्रभावित भएको छ। बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकाय खोज तथा उद्धार कार्यमा परिचालित छन्। घटनाबाट प्रभावित तथा सम्पर्कविहीन व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
बाढीको बहाव र जोखिम अझै कायम रहेकाले त्रिशूली नदी तथा अन्य खोला किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन प्रशासनले आग्रह गरेको छ।







