बाढीको जोखिम बढेपछि नवलपरासीको सुस्ता गाउँ खाली गराइँदै
Prime TV News २ हप्ता अगाडि 
नवलपरासी । तिब्बतबाट आएको भोटेकोशी नदीको भीषण बाढीको असर नारायणी नदी हुँदै नवलपरासीसम्म पर्न सक्ने जोखिम बढेपछि नवलपरासीको सुस्ता गाउँ खाली गराउन थालिएको छ।
नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार नारायणी नदीमा बाढीको जोखिम बढेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको हो। हाल स्थानीयलाई नदीवारि रामनगरस्थित शिव गंगाकुञ्ज प्राथमिक विद्यालयमा स्थानान्तरण गरिएको उनले जानकारी दिए। स्थानीयलाई घरका सामानसमेत सुरक्षित तथा अग्लो स्थानमा राख्न लगाइएको छ।
सुस्तामा २२० घरधुरीमा १ हजार ४५७ जना रहेको प्रशासनले जनाएको छ। उनीहरूलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सुरक्षित स्थानमा सारिरहेको छ। सुस्ता क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका युनिट कार्यालयसमेत रहेकाले स्थानीयको स्थानान्तरणपछि सुरक्षाकर्मीलाई समेत सुरक्षित स्थानमा सारिने प्रमुख जिल्ला अधिकारी नेपालले बताए।
प्रशासनले सुस्तासँगै नारायणी नदी किनारका प्रतापपुर तथा सुस्ता गाउँपालिकाका अन्य बस्तीमा समेत बाढी पस्न सक्ने जोखिम रहेको भन्दै स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। भोटेकोशीमा आएको भीषण बाढी त्रिशूली हुँदै तल्लो तटीय क्षेत्रमा अगाडि बढिरहेका कारण नारायणी नदी आसपासका क्षेत्रमा समेत सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्वतयारी तथा स्थानान्तरणको काम अघि बढाइएको हो।







