नेपालले यूएईमाथि एक रनको रोमाञ्चक जित
Prime TV News एक महिना अगाडि 
काठमाडौ । आईसीसी टी–२० विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ चरणमा नेपालले यूएईमाथि एक रनको रोमाञ्चक जित हासिल गर्दै आफ्नो विश्वकप यात्रालाई अझ बलियो बनाएको छ।
१४१ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको यूएईले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३९ रन मात्र बनाउन सक्यो। खेलको अन्तिम ओभरमा नाटकीय रुपमा तीन विकेट झार्दै दीपेन्द्रसिंह ऐरीले नेपालका लागि चमत्कारिक जित सुनिश्चित गरे।
यूएईलाई अन्तिम ओभरमा १० रन चाहिएको थियो। ऐरीले पहिलो बलमा एक रन दिएका थिए। दोस्रो बल डट हुँदा तेस्रो बलमा ध्रुव परासरले छक्का प्रहार गर्दै यूएईलाई तीन बलमा तीन रनको आवश्यकता पुर्याए। तर त्यसपछि खेलले अप्रत्याशित मोड लियो, चौथो बलमा परासर सन्दीप जोराद्वारा क्याच आउट भए, पाँचौँ बलमा हैदर अली रनआउट, र अन्तिम बलमा दुई रन लिन खोज्दा जाहिद अली पुनः रनआउट हुँदै नेपालले अविश्वसनीय जित दर्ता गर्यो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले चार ओभरमा २२ रन खर्चिएर तीन विकेट लिए र खेलको ‘नायक’ बने। सोमपाल कामी, सन्दीप लामिछाने र गुल्सन झाले एक–एक विकेट हात पारे।
यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो। ओपनर आसिफ शेखले ४७ बलमा ५१ रनको अर्धशतकीय इनिङ खेल्दै टोलीलाई मजबुत सुरुवात दिएका थिए। कुशल भुर्तेलले २८, कप्तान रोहित पौडेलले २० र गुल्सन झाले पाँच बलमा १४ रन जोडेका थिए।
यूएईका आलिसान साराफले ४० बलमा ५८ रनको उत्कृष्ट प्रदर्शन गरे पनि टिमलाई जित दिलाउन सकेनन्। यो जितसँगै नेपालले सुपर–६ चरणमा दुई अंक जोडेको छ। नेपालले अब बाँकी खेलमा कतार, ओमान र समाओसँग प्रतिस्पर्धा गर्नेछ।
नेपालले यसअघि समूह चरणमा कुवेत र जापानलाई हराउँदै सुपर–६ मा प्रवेश गरेको थियो ।













