बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाको काम तत्काल तीव्र बनाउन सरकार संग एमालेको माग

User Image Prime TV News २ हप्ता अगाडि
Image of बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाको काम तत्काल तीव्र बनाउन सरकार संग एमालेको माग

काठमाडौ । नेकपा एमालेले विपद्मा परेका नागरिकको जीवनरक्षा राज्यको पहिलो दायित्व भएको बताउँदै बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाको काम तत्काल तीव्र बनाउन सरकारसँग माग गरेको छ।

भोटेकोशीमा आएको भीषण बाढीपछि बुधबार बसेको एमाले सचिवालय बैठकले बेपत्ता व्यक्तिको खोजी तथा उद्धार, जोखिममा रहेका नागरिकको सुरक्षित स्थानान्तरण र घाइतेको तत्काल उपचारलाई प्राथमिकताका साथ अघि बढाउन सरकारसँग आग्रह गरेको हो।

बैठकले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यथार्थ विवरण तत्काल संकलन गर्न विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्र, साधन–स्रोत र सम्भावित विकल्प अविलम्ब परिचालन गर्न माग गरेको छ। साथै, प्रभावितका लागि तत्कालीन तथा दीर्घकालीन राहत प्याकेज घोषणा गर्न पनि सरकारसँग जोडदार माग गरिएको छ।

बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको विज्ञप्तिमा रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाका रसुवागढी, टिमुरे, स्याफ्रुबेँशी, मैलुङ, बेत्रावती र त्रिशूली क्षेत्रमा बाढीले पुर्‍याएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गम्भीर दुःख र चिन्ता व्यक्त गरिएको छ।

एमालेले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन तथा पूर्वी नवलपरासीका नदी तटीय क्षेत्र अझै उच्च जोखिममा रहेको जनाएको छ। जोखिम कायमै रहेकाले नदी तथा खोला आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा बस्न, जोखिमपूर्ण यात्रा नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पूर्ण रूपमा पालना गर्न एमालेले आग्रह गरेको छ।

एमालेले विपद्को यस संवेदनशील अवस्थामा संघ, प्रदेश र स्थानीय सरकार, जनप्रतिनिधि, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज तथा सामाजिक संघसंस्थासहित आम नागरिकबीच एकीकृत सहयोग, समन्वय र सहकार्य आवश्यक रहेको जनाएको छ।

बाढीमा फसेकाको तत्काल उद्धार, घाइतेको निःशुल्क तथा प्रभावकारी उपचार र प्रभावितलाई द्रुत रूपमा राहत सामग्री उपलब्ध गराउन सबै पक्ष एकजुट हुनुपर्ने एमालेको अपिल छ। यसैबीच, एमालेले आफ्ना सम्पूर्ण नेता–कार्यकर्ता, जनसंगठनका सदस्य तथा जनप्रतिनिधिलाई प्रभावित क्षेत्रमा तत्काल पुगेर खोज, उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा जुट्न निर्देशन दिएको छ।

स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी मानवीय सहायताका काममा अग्रपंक्तिमा खटिन पनि पार्टीले आग्रह गरेको छ। एमालेले सरकारले कुनै पनि बहानामा ढिलाइ नगरी उद्धार कार्यलाई तीव्रता दिन र प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री तत्काल पुर्‍याउन पुनः जोडदार माग गरेको छ।