प्रधानमन्त्री बालेनलाई मोदीको फोन, नेपाललाई हरसम्भव मानवीय सहयोग गर्ने प्रतिबद्धता

User Image Prime TV News २ हप्ता अगाडि
Image of प्रधानमन्त्री बालेनलाई मोदीको फोन, नेपाललाई हरसम्भव मानवीय सहयोग गर्ने प्रतिबद्धता

काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग फोन संवाद गर्दै रसुवाको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

मोदीले प्रधानमन्त्री शाहलाई फोन गरी बाढीपछि नेपालमा भएको क्षतिबारे जानकारी लिनुका साथै प्रभावितप्रति समवेदना व्यक्त गरेका हुन्। संवादपछि मोदीले कठिन परिस्थितिमा भारतका जनता नेपाली नागरिकको साथमा रहेको बताएका छन्।

उनले नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन भारत तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्। मोदीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘प्रधानमन्त्री बालेन्द्र साहसँग कुराकानी गरी नेपालमा बाढीका कारण भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरें। यस कठिन घडीमा भारतका जनता नेपालका आफ्ना दिदीबहिनी तथा दाजुभाइहरूसँग ऐक्यबद्धताका साथमा छन्।’

उनले भारत नेपाललाई आवश्यक सबै मानवीय सहयोग उपलब्ध गराउन तयार रहेको उल्लेख गर्दै उद्धार तथा राहत कार्यमा भारतीय अधिकारीहरूले नेपाली सरकारी अधिकारीहरूसँग समन्वय गरिरहेको जानकारी दिएका छन्।

रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण ठूलो जनधन तथा भौतिक क्षति भएपछि भारतले नेपाललाई तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराउने तयारीसमेत अघि बढाएको छ।बाढी प्रभावित क्षेत्रमा नेपाल सरकारका सुरक्षा तथा उद्धार संयन्त्र परिचालन भइरहेका बेला छिमेकी मुलुक भारतबाट समेत सहयोग र समन्वयको प्रतिबद्धता आएको हो।