भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २२ पुग्यो, ६५ घाइतेको उद्धार
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ।
बाढीपछि विभिन्न स्थानमा सञ्चालन गरिएको खोज तथा उद्धारका क्रममा २२ जनाको शव फेला परेको हो। बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार मृतकमध्ये ११ जना पुरुष र ९ जना महिला छन् भने थप दुई जनाको पहिचान खुल्न सकेको छैन।
प्रहरीका अनुसार जिल्लागत रूपमा रसुवामा एक पुरुष, नुवाकोटमा पाँच महिला र छ पुरुष, धादिङमा पाँच महिला, दुई पुरुष तथा पहिचान नखुलेका दुई जना र चितवनमा एक महिलाको शव फेला परेको छ। बाढीमा परी घाइते भएका ६५ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएकामध्ये रसुवाबाट ४३, नुवाकोटबाट १९ र धादिङबाट तीन जना रहेका छन्।
उद्धार गरिएका घाइतेलाई विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा पठाएर उपचार भइरहेको छ। भोटेकोसीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका नदी तटीय क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति पुर्याएको छ। बाढीका कारण अझै केही व्यक्ति बेपत्ता रहेको आशंकामा सुरक्षा निकायले खोज तथा उद्धार कार्य जारी राखेको छ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा टोली परिचालन गरी बेपत्ता तथा प्रभावितको खोजी, उद्धार र राहत कार्यलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।







