रसुवा बाढीमा १६२ जनाको शव फेला, आठ जिल्लामा उद्धार तथा खोजी जारी

User Image Prime TV News २ हप्ता अगाडि
Image of रसुवा बाढीमा १६२ जनाको शव फेला, आठ जिल्लामा उद्धार तथा खोजी जारी

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेकामध्ये १६२ जनाको शव फेला परेको छ।

बिहीबार बिहान ५ बजेसम्मको प्रहरी विवरणअनुसार बाढीबाट प्रभावित आठ जिल्लामा ती शव फेला परेका हुन्। प्रहरीका अनुसार चितवनमा सबैभन्दा धेरै ६४ जनाको शव फेला परेको छ।

यस्तै, धादिङमा २७, नवलपरासी पूर्वमा २६, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, रसुवामा २ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको छ।

बाढीपछि भोटेकोशी र त्रिशूली नदीको बहावसँगै तल्लो तटीय क्षेत्रमा समेत शव फेला पर्ने क्रम जारी रहेको छ। प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्।

बाढीका कारण रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। सुरक्षाकर्मी तथा स्थानीय प्रशासनले जोखिममा रहेका नागरिकको उद्धार र बेपत्ता भएकाहरूको खोजीलाई प्राथमिकता दिएका छन्।

बाढी प्रभावित क्षेत्रमा सडक तथा सञ्चार संरचनामा समेत क्षति पुगेकाले उद्धार र राहत परिचालनमा चुनौती देखिएको छ। सरकारले प्रभावित क्षेत्रमा आवश्यक सुरक्षा तथा उद्धार संयन्त्र परिचालन गरेको जनाएको छ।